जनप्रतिनिधिलाई न्यायिक पद्धति तालिम

जनप्रतिनिधिलाई न्यायिक पद्धति तालिम

दैलेख, भदौ ११ – रोलर तथा यूएनडीपीको सहयोगमा महिला सशक्तिकरण मञ्चले हिंसा पीडित महिलाको न्यायमा पहुँच परियोजनाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरुलाई न्यायिक पद्धति सम्वन्धी ३ दिने तालिम आजदेखि सुरु गरेको छ ।
नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षलाई दिइएको न्यायिक समिति संयोजकको जिम्मेवारी कार्यान्वय क्षमता विकास गर्न उक्त तालिम सुरु गरिएको हो ।
दैलेखका ४ नगरपालिकाका प्रमुख, उपप्रमुख र ७ वटा गाउँपालिकाका उपाध्यक्षहरु समेत १५ जनाको लागि लागि सञ्चालन भएको तालिमको पहिलो दिन जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले न्यायिक समिति र कार्य सम्पादन प्रक्रिया विषयमा अभिमु्खीकरण गर्नुभयो ।
तालिमको औपचारिक उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले स्थानीय तहका वडा सदस्यहरु समेत यस्तो तालिम दिनुपर्ने सुझाव दिनुभयो । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही खत्रीले महिलाले पाएको पद अनुसार जिम्मेवारी निर्वाह गर्न सरकारले कानून नबनाएको भन्दै आपत्ति जनाउनुभयो ।
महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दका अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक सरोज पौडेल, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, कानूनी सहायता समितिका कार्यक्रम संयोजक मातृका खनाल, गैसस महासंघका जिल्ला सचिव रबिन्द्र शाहीले तालिमको महत्व र यसको सफल कार्यान्वयनको विषयमा बोल्नु भएको थियो ।
तालिममा सामाजिक समावेशीकरण प्रशिक्षक हिम्मत लेकाली मुख्य सहजकर्ताको अलवा ६ जना स्थानीय सरोकारवालाले अभिमुखीकरण गर्ने हिंसा पीडित महिलाको न्यायमा पहुँच परियोजनाका संयोजक राधा मल्लले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया