पर्यटन बोर्डका सीईओले गीत गाएर नाच्दै कार्यक्रमको उद्घाटन गरेपछि….

पर्यटन बोर्डका सीईओले गीत गाएर नाच्दै कार्यक्रमको उद्घाटन गरेपछि….

(पर्यटन प्रोडक्ट तयार पार्ने उदेश्यका साथ पर्यटनका लागि लोकसंगीत देउसी–भैलो सम्पन्न)

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई तालमा ताल मिलाएर खास्सै नाच्न आउँदैन, नत उनलाई गीत गाउन नै आउँछ । तर, आज यस्तो संयोग प¥यो कि कार्यक्रमको उद्घाटन नै देउसी भैलो गाएर गर्नु पर्यो ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले नेपाल लोकबाजा संग्रहालयसँगको सहकार्यमा गरेको देउसी–भैलो कार्यक्रमको उद्घाटन नै देउसी गीत गाएर गर्नु पर्ने भएपछि सीईओ जोशीलाई अप्ठेरो प¥यो । तर, उनले मज्जैले देउसी गीत फलाके र कार्यक्रमको उद्घाटन गरे ।

बोर्डका सीईओले देउसी गाएर कार्यक्रम उद्घाटन गर्दा धेरै उत्साहित थिए । अझ बढी उत्साहित सोही कार्यक्रममा आएका विदेशी पर्यटकहरु थिए । उनीहरु पनि कार्यक्रममा मज्जैले नाचे । नेपाली लोक शैली र तालको खासै ज्ञान नभएका उनीहरु आफ्नै तालमा कम्मर मर्काइमर्काइ नाचे ।

‘पर्यटनका लागि लोक संगीत’ मूल नाराका साथ सँस्कृतिको जगेर्ना र पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आज जाट–नेपालले एक दिने देउसी–भैलो कार्यक्रमको आयोजना गरेको हो । आर्थिक सहयोग भन्दा पनि लोकसँस्कृतिको संरक्षण गर्ने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले बताए । उनले सँस्कृति र प्रकृतिको सँगसँगै संरक्षण हुन नसके नेपालमा पर्यटन प्रबद्र्धन गर्न नसकिने भन्दै यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।

कार्यक्रममा लोकबाजा संग्रहालयको तर्फबाट लोक कलाकार तथा लोपोन्मुख नेपाली बाजाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमकै सिलसिलामा बोर्डमै नेपालको सबैभन्दा ठूलो (७ फिट ३ इन्च) र सबैभन्दा सानो (७ इन्च)को सारङ्गी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा बोर्डका सीईओ दीपकराज जोशीले पर्यटन पत्रकारहरुले सँस्कृति संरक्षणका लागि सुरुवात गरेको देउसी–भैलो कार्यक्रमले पर्यटनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता खालका कार्यक्रमलाई बोर्डले प्रबद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

त्यस्तै, लोकबाजा संग्रहालयका प्रमुख रामप्रसाद कंडेलले पर्यटन पत्रकारहरुसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले नेपालमा रहेको १३ सय ५० बढी बाजाहरुलाई विश्वव्यापीकरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालले नेपालको सबैभन्दा ठूलो सारङ्गीलाई बोर्डले खरिद गरि पर्यटन बोर्डको संग्रहालयमा राख्ने प्रतिबद्धता जाहेर गरे । उनले पर्यटन पत्रकारहरुले सुरुवात गरेको सँस्कृति संरक्षणको कार्यक्रमले धेरै पर्यटन व्यवसायीहरुलाई सकारात्मक सन्देश दिने पनि बताए ।

कार्यक्रमको संचालन गर्दै जाट–नेपालका महासचिव हरिशरण न्यौपानेले लोकसंगीतलाई पर्यटन प्रोडक्टकारुपमा विकास गर्न लोकबाजा संग्राहलयसँगको सहकार्यमा उक्त थालनी गरिएको बताए । कार्यक्रमको समापन गर्दै जाट–नेपालका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले यो पहिलो कार्यक्रम भएको र आगामी दिनमा यसलाई बार्षिक क्यालेन्डरको रुपमा विकास गर्दै व्यवस्थित तरिकाले आयोजना गर्ने बताए । कार्यक्रममा बोर्डका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, कलाकार, पर्यटक तथा स्थानीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया