बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

 पीडक राजेश चन्दमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने –

कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । उनलाई थप कुटपिट पनि गरेर राजेश फरार छन् ।

 

बिहान घरमै पूजापाठका लागि घिउ तताइरहेका बेला राजेश आएर आफूसँग विवाह गर्न दबाब दिएको सुनिताले बताइन् । ‘मैले बिहे गर्दिनँ भन्दा तातो घिउ अनुहारमा छ्याप्यो र कुटपिट गरेर भाग्यो,’ उनले नयाँ पत्रिकासँग भनिन् । सुनिता स्नातक तह तेस्रो वर्षकी विद्यार्थी हुन् ।

तातो घ्यूले उनको अनुहारमा घाउ भएको छ । आँखा अझै खुल्न सकेका छैनन् । उनलाई उपचारका लागि तत्काल महेन्द्रनगर आँखा अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि कैलालीस्थित गेटा आँखा अस्पताल लगिएको थियो । उपचारपछि केही सन्चो भए पनि दुवै आँखा अझै खुलेका छैनन् । ‘औषधिले केही बिसेक त भएको छ, तर दुवै आँखा बन्द नै छन्’ सुनिताका दाइ शंकरले भने । उनलाई उपचारपछि बुधबार नै घर ल्याइएको छ । ‘नियमित उपचार गर्नुपर्नेछ, सजिलोका लागि घर ल्याएका छौँ,’ उनले भने ।

तातो घिउ छ्याप्दै कुटपिट गरेर भागेका राजेश फरार छन् । सुनिताकाे परिवारले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएका छन् । उनको खोजी भइरहेको र कारबाही गरिने एसपी ज्ञानबहादुर सेठीले बताए । ‘राजेशलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ, उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौँ,’ एसपी सेठीले भने ।

तीन महिनाअघि जिप्रकामै मिलापत्र
बिहे गर्न नमानेको भन्दै तीन महिनाअघि पनि राजेशले सुनितालाई कुटपिट गरेका थिए । उनले सात–आठ महिनादेखि सुनितालाई बिहेका लागि दबाब दिँदै आएको परिवारका सदस्यले बताए । सुनिताले ‘बिहे गर्दिनँ’ भनेपछि मंसिरमा पनि कुटपिट गरेका थिए । ‘कलेज आउँदा–जाँदा पनि दबाब दिइराख्दोरहेछ, नाइँ भन्दा कुटपिट गर्दोरहेछ,’ सुनिताकी आमा जयन्तीले भनिन् ।

दुःख दिने, कुटपिट गर्ने गरेको विषयमा सुनिताले घरमा बताएकी थिइनन् । तीन महिनाअघि भने सुनिताले आमालाई भनेकी थिइन् । परिवारजनले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए । तर, त्यतिवेला जिल्ला प्रहरी कार्यालयमै मिलापत्र गरिएको थियो । ‘तीन महिनाअघि पनि राजेशले छोरीलाई कुटेका थिए, अबउप्रान्त कुटपिट नगर्ने वचन दिएपछि जिप्रकामा मिलापत्र गरेका थियौँ,’ जयन्तीले भनिन् ।

यस्तो थियो घटना
सुनितालाई मन पराएको र बिहे गर्छु भन्दै राजेश घरमै माग्न आएका थिए । परिवारजनले पनि ‘जोडमेल भयो भने गरौँला’ भनेका थिए । ज्योतिषीलाई चिना हेराउँदा नाता परेकाले बिहे गर्न नमिल्ने देखिएको उनका दाइ शंकरले बताए । ‘घरमा आएका थिए, दुवै परिवारको नजिकको नाता पर्ने भएकाले विवाह गरिएन,’ उनले भने ।

त्यसपछि राजेशको परिवारले मंसिरमा अन्तैबाट बिहे गरेका थिए । तर, राजेशले भने सुनितालाई दुःख दिन छोडेका थिएनन् ।

प्रतिक्रिया