जथाभावी मदिरा बिक्री वितरण,नियन्त्रणमा कठिनाइ

जथाभावी मदिरा बिक्री वितरण,नियन्त्रणमा कठिनाइ

दैलेखको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा मदिरा व्यापार नियन्त्रण गर्न कठिनाइ भएको छ । दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण तमासा हुने गरेको छ ।

अछाम, कालिकोट र दैलेखको महत्वपूर्ण बजारका रूपमा रहेको राकम कर्णालीमा यसरी खुलेआम मदिरा विक्री वितरण हुनु राम्रो नभएको स्थानीयको भनाइ छ । मदिरा सेवन गर्नेहरूलाई दिनहुँ पक्राउ गरिए पनि उनीहरूसँग जरिवाना तिर्ने पैसा समेत नहुँदा उल्टै खाना खुवाएर पठाउनु पर्ने गरेको इलाका प्रहरी कार्यालय राकम कर्णालीका प्रमुख डोरबहादुर बुढाथोकी बताउँछन् ।

आठबीस नगरपालिकाका स्थानीय अगुवा तेजबहादुर महताराले मदिराका कारण हरेक गाँउमा झगडा हुने गरेको भन्दै तत्काल तत्काल मदिरा नियन्त्रणका लागि पहल गर्नुपर्ने बताउँछन् ।

खुद्रा पसलमा पनि मदिरा

मदिरा विक्री वितरणका लागि अनुमति लिनुपर्ने भए पनि आठबीसका अधिकांश व्यापारीले मदिराको व्यापार व्यवसाय गर्दै आएका छन् । यहाँसम्म कि खुद्रा तथा खाध्यान्न पसल, मेडिकलको आडैमा, विद्यालयको १०० मिटरभित्र, कपडा पसलमा समेत छ्याप्छ्याप्ती मदिरा पाइने गरेको छ ।

यसरी जहाँ पायो त्यहीँ मदिरा विक्री वितरण गरेको पाइए पनि नगरपालिका भने बेखबरजस्तै रहेको छ । उसो त नगरपालिकाको पहिलो बैठकले नै नगरमा मदिरा नियन्त्रण गर्ने भनिए पनि केही वडामा बाहेक अन्यत्र मदिरा नियन्त्रण समिति समेत गठन हुन सकेको छैन ।

आठबीस नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष प्रयाग शाहीले एक समिति गठन गरेका छन् भने वडा नं. ८ का वडाअध्यक्ष मुक्तिप्रसाद उपाध्यायले करीब डेढ लाख बराबरको मदिरा नष्ट गरेका छन् । यता सोही नगरको वडा नं. ९ का अध्यक्ष धनबहादुर सिजापति भने आफ्नो वडामा ७० प्रतिशत मदिरा नियन्त्रणमा आइसकेको बताउँछन् । तर अधिकांश मदिरा राकम कर्णालीबाटै जाने भएकाले नगरपालिकाले सबैभन्दा पहिले त्यहाँबाटै मदिरा नियन्त्रणको अभियान शुरु गर्नुपर्नेमा उनको जोड छ ।

अनुगमनमा तीव्रता दिन्छौं- नगरप्रमुख

आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले अबको केही दिनमै आफूहरु अनुगमनमा जाने बताए । उनले भने, ‘यसअघि हामीले बारम्बार व्यवसायीहरूलाई मदिरा विक्री वितरण सकेसम्म नगर्न र गरे पनि इजाजत प्राप्त पसलबाट दिइएको समयमा मात्र विक्री वितरण गर्न÷गराउन आग्रह गरेका थियौं,’ प्रमुख उपाध्यायले भने, ‘अब हामीले अनुगमनलाई थप व्यवस्थित गर्दै कडाइका साथ अघि बढ्छौं र नगरपालिकामा मदिरा नियन्त्रण गरिछाड्छौं ।’ उनले यसअघि विभिन्न चुनाव, बजेट विनियोजनजस्ता महत्वपूर्ण कुराले सोचेअनुरूपको अनुगमन गर्न नसकिएको बताए । लोकान्तर

प्रतिक्रिया