चामुण्डालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिने

चामुण्डालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिने

दैलेख जेठ २२- जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकालाई आगामी दुई बर्ष भित्र पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गरिने भएको छ । नगरपालिकामा मंगलवार आयोजित पूर्ण सरसफाई सम्बन्धि जनप्रतिनीधिहरुलाई अभिमुखिकरण गोष्ठिमा आगामी आर्थीक बर्ष २०७६/०७७ भित्रमा पूर्ण सरसफाई उन्मुख नगरपालिकाको रुपमा घोषणा गरिने निणर्य गरिएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखको आयोजनमा गरिएको अभिमुखिकरण गोष्ठिमा नगरपालिकाले आगामी आर्थीक बर्ष २०७५/०७६ को निती तथा कार्यक्रम र बजेटमा पूर्ण सरसफाई सम्बन्धि क्रियाकलापहरु समावेश गरि संचालन गर्ने निणर्य गरिएको छ ।
गोष्ठिले नगरपालिका भित्रका शौचालय नभएका घरधुरीलाई वडा र नगरपालिकाबाट दिइने सेवा तथा सुविधालाई निरुत्साहित गर्ने निणर्य गरिएको छ । यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निणर्य गरिएको छ । सार्वजनिक शौचालय नभएका वडा नं. १ को चापाँगाउँ, वडा नं. २ को चाल्ने चौतारा, वडा नं. ३ को हाडाकोट, वडा नं. ५ को बाहुनधारा, वडा नं. ६ को जम्बुकाँध, वडा नं. ७ को पाल्तेबजार,वडा नं. ८ को विन्द्रासैनी र वडा नं. ९ को डौँसुरमा आगामी आर्थीक बर्षमा शौचालय निर्माण गर्ने निणर्य गरिएको हो ।
साथै यस अघि बनेका शौचालय र आगामी बर्ष निर्माण गरिने सार्वजनिक शौचालयको व्यवस्थापन तथा संचालनको लागि नगरपालिकाले निर्देशिका बनाउनुका साथै नगरका सबै विद्यालयहरुका भएका शौचालयहरुको ससरसफाई सम्बन्धि निर्देशिका बनाई लागु गर्ने निणर्य गरिएको छ ।
गोष्ठिमा बोल्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्य बहादुर शाहीले जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा भइरसकेकोले नगरपालिकालाई आगमी दुई बर्ष भित्र पूर्ण सरसफाई उन्मुख घोषणा गर्नको लागि आवश्यक क्रियाकलापहरु संचालन गर्न निर्वाचित वडा अध्यक्ष र वडा सचिवहरुलाई निर्देशन दिए ।
दिगो विकासको मुल आधार, स्वच्छ खानेपानी र सरसफाई युक्त बानी व्यवहार मुल नारा सहित मंगलवारबाट सुरु भएको १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखले उक्त गोष्ठिको आयोजना गरेको हो । सप्ताहको पहिलो दिन चामुण्डाविन्द्रासैनी नगरपालिका र महावुगाउँपालिकामा गोष्ठि गरिएको हो । राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा दैलेखको ११ वटै स्थानीय तहमा गाष्ठि गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखले जनाएको छ । नगरपालिकाको प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष र वडा सचिवहरु सहभागि गोष्ठिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखका नायब सुब्बा गणेश केसी र प्राविधिक लक्ष्मीप्रसाद कोइराला सहभागि थिए ।

प्रतिक्रिया