‘चौथोले बलात्कार गर्ने बेला उनले प्राण त्यागिन्’

‘चौथोले बलात्कार गर्ने बेला उनले प्राण त्यागिन्’

–उन्नती चौधरी–

कैलाली । हराएको तीन दिनपछि मृतावस्थामा फेला परेकी युवतीको बलात्कारका कारण मृत्यु भएको प्रहरीले पत्ता लगाएको छ ।असार १२ गते वेपत्ता भएकी कैलालीको गौरीगंगा नगरपालिकाकी २१ वर्षीया युवतीको असार १५ गते नगरपालिकाको चपरथली सामुदायिक बनमा सडेको अवस्थामा लास फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार उनलाई उनकै सहकर्मी गौरीगंगा नगरपालिका ११ शिबपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीले सामूहिक बलात्कारसँगै हत्या गरेका हुन् ।

कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार युवतीको सव भेटिएको दिनमा दुई जनालाई पक्राउ गरिएको थियो भने छानबिनका क्रममा २० जनालाई पक्राउ गरिएको थियो ।

हत्या गरिएकी युवती गौरीगंगा नगरपालिकाको वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत थिइन् ।बलात्कारका क्रममा युवतीको मुखमा कागजको बुजो कोचिएको थियो भने हात खुट्टा उनकै कपडाले बाँधिएका थिए ।मुखमा कोचिएको बुजोका कारण सास फेर्न नसकेपछि चौथो व्यक्तिले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये मनोज बोगटी हिजो बिहीबार पक्राउ परेपछि उनले नै घटनाको बेली बिस्तार लगाएका हुन् । युवतीले प्रयोग गर्दै आएको मोबाइल पनि उनकै साथमा फेला परेका कारण घटना पुष्टी गर्न थप सहयोग पुगेको हो ।

पत्रकार सम्मेलनमा बताइए अनुसार असार ८ गते घटनाका प्रमुख योजनाकार मानिएका गणेश बडुवालले युवतीलाई यौन सम्बन्धका लागि प्रस्ताव राखे । तर युवतीले सिधै इन्कार गरिन् । त्यसैको प्रतिसोधमा गणेशले साथीहरुसँग मिलेर सामूहिक बलात्कार गर्ने योजना बनाए र यो घटना भयो ।प्रहरी उपरीक्षक घिमिरेले आरोपितलाई बलात्कार, ज्यान मुद्दा र सामूहिक बलात्कार गरी तीन मुद्दा चलाइने जानकारी दिए । –महिला खबर–

प्रतिक्रिया