नेपाल प्रहरी : दक्षिण एसियामै उत्कृष्ट

नेपाल प्रहरी : दक्षिण एसियामै उत्कृष्ट

काठमाडौँ, साउन १२ गते । कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ । निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन । कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमा नै उत्कृष्ट देखाएको छ । ‘रुल अफ ल’ कार्यान्वयनमा नेपाल विश्वको ५९औँ स्थानमा छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का ११२ देखि १२३ सम्मका स्थानमा छन् । 
सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानुन, कानुनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्ट (वल्र्ड जस्टिस प्रोजेक्ट)ले जनाएको छ । त्यस्तै, विश्व पिस इनडेक्स–२०१९ नेपाल ७१औंँ स्थानमा परेको छ । शान्ति सुरक्षाका लागि नेपाल अर्जेन्टिना पछि आउँछ । आइसल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ती देशमा अपराधका घटना हुनै छोडेपछि जेलसमेत भत्काउन थालिएको छ । 
दक्षिण एसियाका आठ देशमध्ये नेपाल शान्त र सुरक्षित गन्तव्यका रूपमा पहिलो स्थानमा छ । यो इन्डेक्सले पर्यटन वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना मुलुकको सिङ्गो सुरक्षा अवस्थालाई एउटा घटनासँग दाज्न नमिल्ने बताउनुहुन्छ । 
एसियाली विकास बैङ्क (एडीबी)ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले नेपालको ६४ प्रतिशत जनता प्रहरी सेवाप्रति खुसी हुने गरेको देखाएको छ । प्रहरी कर्मचारी (व्यक्ति) भन्दा संस्थाबाट प्रदान हुने सेवालाई सर्वसाधारणले मन पराउने गरेको बताइएको छ । 
संयुक्त राष्ट्रसङ्घ (यूएन)को मापदण्डअनुसार एक प्रहरी कर्मचारी बराबर ३३३ जना नागरिक हुनुपर्ने छ तर नेपालमा भने ४३५ जना पर्ने गरेको छ । पर्याप्त स्रोतसाधनको अभावका अतिरिक्त वार्षिक ७२.८ प्रतिशत मुद्दाको सफल अनुसन्धान हुने गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल अपराधका घटना आश्चर्यजनक ढङ्गले वृद्धि भइरहेका बेला यतिको सफलता हुनुमा सेवाग्राहीको प्रहरीप्रतिको विश्वास भएको बताउनुहुन्छ । 
कुल दरबन्दी ७६ हजार भए पनि करिब ६५ हजार जनशक्ति कार्यरत छन् । त्यसमा अपराध अनुसन्धानमा करिब पाँच प्रतिशत दक्ष जनशक्ति छन् । यो जनशक्तिलाई एक वर्षभित्रमा १० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । 
प्रत्येक वर्ष विभिन्न प्रहरी कार्यालयमा ४३ हजार मुद्दा दर्ता हुने गर्छन् । ती मुद्दामा संलग्न ४० हजार अभियुक्त पक्राउ पर्छन् । 
“प्रहरीले आचरण र व्यवहार सुधार गर्ने हो भने थप उपलब्धि हासिल गर्नेमा कुनै अवरोध छैन”, समाजसेवी ताराबहादुर कुँवर भन्नुहुन्छ, “गाह्रो पर्दाको साथी र सहयोगी प्रहरी नै हो, कहिलेकाहीँ पेसाको दुरुपयोग हुँदा सङ्गठनको नै बदनाम हुनपुग्छ । ”  गाेरखापत्र

प्रतिक्रिया