प्रवासमा रहेका नेपाली समस्यामा

प्रवासमा रहेका नेपाली समस्यामा

खाद्यान्नको जोहो गर्दै भारतमा रहेका नेपाली । लकडाउनका कारण दैनिक छाक टार्न समेत मुस्किल परेका नेपाली नागरिकहरुलाई नेपाली जनसम्म्पर्क समितिले खाद्यान्न उपलब्ध गराएको थियो ।
तस्विर सौजन्य : गोविन्द थापा ।

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २२ गते ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिदँै भारतमा जारी लकडाउनका कारण भारतमा रहेका नेपाली नागरिक समस्यामा परेका छन् । रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिकहरु लकडाउनका कारण समस्यामा परेका हुन् । रोजगारीका लागि भारतको मुम्बईमा रहेका दैलेखको दुल्लु नगरपालिकाका–३ का तीन सय जना, वडा नं. ५ का डेढ सय नागरिक समस्यामा परेका छन् । त्यस्तै भैरबी गाउँपालिकाका एक सय बढि नेपाली समस्यामा परेका छन् । छोराछोरीलाई पढाउन र घरको गर्जो चलाउन भारत गएकाहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ ।
‘बस्ने समेत ठाउँ नहुँदा एउटै कोठामा कोचाकोच गरेर बस्नु परेको त्यहाँ रहेका दुल्लु नगरपालिका–४ का दल बहादुर नेपाली बताउँछन् । ‘कामहरु ठप्प छन्, हामी समस्यै समस्या झेलिरहेका छौ,’ उनले भने । भारतका विभिन्न क्षेत्रमा रोजगारी गर्दै आईरहेका उनिहरु अहिले स्वदेश फर्कन पाइने बाटो कुरेर बसिरहेका छन् । आफुहरुलाई स्वदेश फर्किने वातावरण मिलाईदिन उनिहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् । दुल्लु–३ का सुरेन्द्र बुढाले भने ‘बरु जन्मथलो पुगेर नेपाल सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाइनमा बस्न तयार छौ, यहाँ त कोरोना भाइरसले भन्दा पनि भोकले मरिने डर छ ।’
‘लकडाउन भएसँगै काम गरिरहेको होटल व्यवसाय तथा उद्योगहरु ठप्प छन्, आफुसँग भएको केहि रकम पनि सकियो, जारी लकडाउन थप गरिएको छ,’ त्यहाँ रहेका कलम कार्कीले भने । दैलेखबाट रोजगारीका लागि गएकाहरु मध्ये अधिकाँश होटलमा काम गरिरहेका छन् । छोराछोरी सहित सपरिवार नै भारत गएकाहरु झनै समस्यामा परेको कार्कीले बताए । गर्भवती, सुत्केरी महिला र बालबालिका प्रभावित भएको कार्कीले बताए ।
लकडाउनका कारण दैनिक छाक टार्न समेत मुस्किल परेका नेपाली नागरिकहरुलाई नेपाली जनसम्म्पर्क समितिले केहि दिनलाई पुग्ने खाद्यान्न व्यवस्थापन गरेको छ । समितिका केन्द्रिय खेलकुद विभाग सचिव गोविन्द थापाले रकम जम्मा गरेर थोरै भएपनि खाद्यान्न उपलब्ध गराएको बताए । ‘हामीले आफ्नो खर्चबाट खाद्यान्न व्यवस्थापन गरेका हौ,’ थापाले भने ‘हामी आफै समस्यामा परिरहेका छौ, अन्य प्रवासीहरुको समस्या कसरी समाधान गर्ने ?’
थापाले भारतका विभिन्न स्थानमा समस्यामा परेका नेपालीहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग खाद्यान्नको जोहो गरिदिन आग्रह गरे । भारतको गुजरात, महाराष्ट र गोवामा मात्रै दैलेखका झण्डै पाँच हजार नागरिक समस्यामा परेको उनले जानकारी दिए । उद्धारका लागि नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने थापाको माग छ । ‘प्रवासमा रहेको नेपालीहरुको समस्यालाई संवेदनशिल ढंगबाट पहलकदमी लिनुपर्छ,’ उनले भने ‘कि जन्मथलो फर्काइदिनुपर्छ नभए खाद्यान्नको जोहो गरिदिनुपर्छ ।’ उता नेपाली जनसम्पर्क समितिले भारतमा लाखौ नेपाली अलपत्र अवस्थामा भोकभोकै रहनुपरेको भन्दै मातृभुमी फर्कन अनुमतीका लागि नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया