नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३९६

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३९६

काठमाडौं असोज १३ गते । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र तीन सय ७ महिला र ४४० पुरुष गरेर ७४७ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ४७ महिला र ६७ पुरुष गरेर ११४ जना र भक्तपुरमा २८ महिला र ४५ पुरुष गरेर ७३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकामा ९३४ सहित देशभर २४ घण्टामा ५५६ महिला र ९७५ पुरुष गरेर १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार ३५८ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। यो संख्या ७२ दशमलव ६ प्रतिशत हो।  नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २० हजार ३८९ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर गरिएको हो। योसँगै नेपालमा पीसीआर परीक्षण भएकाको कुल संख्या १० लाख ९ हजार २९८ पुगेको छ।मन्त्रालयका अनुसार अहिले आईसीयूमा २१३ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइराखेको छ। मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमितको संख्या शून्य छ। २४ घण्टामा १० जनाको कोरोनाले मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार ३ महिला र ७ पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये बाँके र काठमाडौंका तीनतीन जना छन्।

५७ वर्षीया महिला, ६० र ७० वर्षका दुई पुरुष गरेर काठमाडौंका तीन जनाको मृत्यु भएको हो। बाँकेकी ७६ वर्षीया महिलासँगै ३९ र ५३ वर्षीया पुरुषको मृत्यु भएको हो मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला र चितवनका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या संख्या ४९१ पुगेको छ।

 

प्रतिक्रिया