नेपालमा दैनिक २ जनालाई एचआईभी संक्रमण

नेपालमा दैनिक २ जनालाई एचआईभी संक्रमण

आज ३३ औं विश्व एड्स दिवस

काठमाडौं: आज डिसेम्बर १ तारिख। प्रत्येक वर्ष यस दिन विश्वभर एड्स दिवस मनाइँदै आएको छ। जुन क्रम नेपालमा समेत ३३ वर्षदेखि जारी छ। नेपालमा ३३ वर्षअघि अर्थात् सन् १९८८ मा पहिलो एचआईभी एड्स संक्रमित फेला परेको थियो। एड्सलाई एचआईभी संक्रमणको अन्तिम अवस्था मानिन्छ।त्यसैलाई आधार मानेर नेपालमा पनि प्रत्येक वर्षको डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइँदै आएको छ। विश्व एड्स दिवसअन्तर्गत यस वर्षको नारा ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ तय गरिएको छ।

नेपालमा २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित भएको अनुमान गरिन्छ। यस्तै नेपालमा दैनिक दुईजनालाई एचआईभी संक्रमण भएको पाइएको छ। जसअनुसार आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ९० जनालाई एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ।विश्व एड्स दिवसको अवसरमा केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष ५ सय पुरुष र २ सय ९० महिलामा एचआईभी संक्रमण पुष्टि भएको छ। जसअनुसार एकजना महिला संक्रमित हुँदा दुईजना पुरुषमा संक्रमण भएको देखिएको छ।

एचआईभी संक्रमण हुने नयाँ महिलामध्ये २ सय ३९ जना गर्भवती हुने गरेका छन्।केन्द्रले नेपालमा गत वर्षसम्म ३७ हजार ५ सय ९६ जना एचआईभी संक्रमितको तथ्यांक दर्ता भएको जनाएको छ। जसमध्ये १४ हजार ४ सय ६० जनाको मृत्यु भई गत वर्षसम्म २३ हजार एकसय ३६ जनामात्रै जीवित रहेको केन्द्रको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार जीवित एचआईभी संक्रमितमध्ये पुरुष १३ हजार ३ सय ४१, महिला नौ हजार ५ सय ७२ र तेस्रो लिंगी २ सय २३ जना रहेका छन्।

केन्द्रको तथ्यांकअनुसार कूल संक्रमितमध्ये ३१.६ प्रतिशत यौनकर्मीका ग्राहक रहेका छन्। त्यस्तै गृहिणी महिला, बालबालिका, पुरुष पार्टनरलगायत ३१ प्रतिशत रहेका छन्।विदेश गई काम गर्ने ११.२ प्रतिशत आप्रवासी मजदुरमा एचआईभी संक्रमण पाइएको छ। सुईबाट लागूपदार्थ प्रयोग गर्नेहरुको संख्या ८.९ प्रतिशत, आप्रवासी मजदुरका श्रीमतीहरुमध्ये ८.४ प्रतिशत र ६ प्रतिशत यौनकर्मीहरु एचआईभी संक्रमित रहेका छन्।

कूल संक्रमितमध्ये ७१.७ प्रतिशत २५ देखि ४९ वर्ष उमेरभित्रका रहेका छन्। महिला संक्रमिततर्फ यस उमेर समूहका ४५ प्रतिशत रहेको केन्द्रको तथ्यांकले देखाउँछ। २० देखि २४ वर्षका ११.६ प्रतिशत, ५० वर्षमाथिका ६.७ प्रतिशत, १५ देखि १९ वर्षका ३.१ प्रतिशत, ५ देखि ९ वर्षका २.९ र ५ वर्षमुनिका २.४ प्रतिशत रहेका छन्। १० देखि १४ वर्ष उमेरका भने १.६ प्रतिशतमात्रै संक्रमित रहेका छन्।केन्द्रको तथ्यांकअनुसार कूल संक्रमितमध्ये ८३.८९ प्रतिशत अर्थात १९ हजार ४ सय १० जनामात्रै जीवनदायिनी औषधि एन्टिेरेट्रोभाइरल थेरापी (एआरभी) सेवा पाएका छन्। एचआईभी एड्सको क्षेत्रमा कार्यरत संघसंस्थाले नेपालमा अनुमानित १० हजार जना एचआईभी संक्रमितहरुको पहिचान नै हुन सकेको छैन।

देशका ६१ जिल्लामा ८० वटा एआरटी केन्द्रहरु रहेका छन्। त्यस्तै एचआईभी संक्रमितहरुको लागि देशका ५६ जिल्लामा समुदायमा आधारित स्याहार केन्द्र रहेका छन्। ती केन्द्रमार्फत गत वर्ष २ हजार एकसय ३ जनाले सेवा पाउँदा दुई हजार ८ सय ७ जना एआरटी सेवामा भित्रिएको केन्द्रले जनाएको छ।यसैबीच ३३ औं विश्व एड्स दिवसको अवसरमा केन्द्रले राजधानीमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा केन्द्रकी प्रमुख डा. सुधा देवकोटाले नेपालमा सन्तोषजनक रुपमा एचआईभी संक्रमण घट्दै आएको दावी गरिन्।

उनले सरोकारवाला सम्पूर्ण दातृनिकाय, संघसंस्थाहरुसँग सहकार्य, समन्वय गरेर एचआईभी एड्सको क्षेत्रका समस्या समाधान गर्दै लगिने बताइन्।डा. देवकोटाले कोरोना भाइरस संक्रमण महामारीको बेलासमेत एचआईभी संक्रमितहरुको सेवाको लागि केन्द्र खुला गरिएको जानकारी दिइन्।केन्द्रकै अधिकृत मदन श्रेष्ठले कोभिड १९ को कारण एचआईभी एड्सको क्षेत्रमा बजेट अभाव भएको बताए।एचआईभी एड्सको लागि विनियोजित बजेटको ५६ प्रतिशत रकम एआरटीमा खर्च हुने उनको भनाइ थियो।एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले एचआईभी एड्ससम्बन्धी समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने कार्यमा सहकार्य गर्न एएचएफ नेपाल सदैव तयार रहेको बताए।

उनले एचआईभी संक्रमितहरुको जीवनयापन सहज बनाउन उनीहरुको उद्यमशीलता विकास गर्न सरकारले पहल गर्नुपर्ने सुझाव दिए।राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका अध्यक्ष राजेश दिदियाले देशभरका अस्पताल तथा स्वास्थ्य संस्था कोभिड १९ को केन्द्रित गरिँदा उपचारमा पहुँच अभावले कार्तिकभित्र एकसय ६ जना एचआईभी संक्रमितले ज्यान गुमाउनु परेको सुनाए।कोभिड १९ का बीच महासंघले संक्रमितको घरघरसम्म पुगेर एआरभी औषधि तथा खाद्यान्न र स्वास्थ्य सामग्री राहतस्वरुप उपलब्ध गराएको उनले जानकारी दिए।

‘यसक्रममा ३० जना एचआईभी संक्रमितलाई कोरोना भाइरस संक्रमण भएको थियो’, उनले भने, ‘कोरोना भाइरस संक्रमण जितेर उहाँहरु डिस्चार्जसमेत भइसक्नुभएको छ।’अध्यक्ष दिदियाले कोभिड १९ कै बीच एचआईभी संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधि विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार परिवर्तन गरिएको बताए।पहिलेको एआरभी औषधिले संक्रमितहरुमा नकारात्मक असर (साइड इफेक्ट)  देखिएपछि त्यसको ठाउँमा नयाँ एआरभी औषधि चलाइएको उनको भनाइ थियो। नियमित एआरभी औषधिका सेवनले संक्रमितको शरीरमा एचआईभीका भाइरसको संख्यामा उल्लेख्य कमी आई संक्रमण नसर्ने अवस्था विकास हुने उनको भनाइ थियो।

प्रतिक्रिया