एकीकृत पाठ्यक्रम सम्बन्धी जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

एकीकृत पाठ्यक्रम सम्बन्धी जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

फोटो फाइल

दैलेख : दैलेखमा एकीकृत पाठ्यक्रम सम्बन्धी जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दैलेखको आयोजनामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयनका लागि जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण गरिएको हो । इकाई प्रमुख तेजबहादुर थापाको संयोजकत्वमा सञ्चालित प्रशिक्षक प्रशिक्षण तालिममा सामाजिक विकास कार्यालयका सामाजिक विकास अधिकृत झलक कोइरालाले स्वागत मन्तब्य राख्दै कार्यक्रम सफलताको कामना गरेका थिए । तालिम कार्यक्रममा इकाइ प्रमुख थापा, शैक्षणिक स्रोत ब्यक्ती वासुदेव उपाध्याय, शिक्षक मनकुमारी न्यौपाने र शक्तिबहादुर बुढाले लगायतले सहजीकरण गरेका थिए ।
इकाइ प्रमुख थापाले एकीकृत पाठ्यक्रमको अवधारणा, नीतिगत प्रावधान र प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्देश्य माथि छलफल गर्दै शैक्षिक सत्र २०७७ बाट कक्षा १ मा देशभर लागू भईसकेको र कक्षा २ र ३ मा शैक्षिक सत्र २०७८ बाट कार्यान्यन गरिने बताएका छन् । दैलेख जिल्लामा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका ११ वटै स्थानीय तहमा प्रशिक्षकहरू तयार गरिएको थापाले बताए । जिल्लास्तरमा प्रशिक्षक तयार गरी उनीहरूबाट नै स्थानीय तहमा कक्षा १, २ र ३ सञ्चालन भएका सबै विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पहिलो प्राथमिकतामा राखी तालिम चलाइने छ ।
कक्षाको सहजीकरण गर्दै इकाइ प्रमुख थापाले एकीकृत पाठ्यक्रम आधारभूत तह अन्तर्गत कक्षा १ देखि ३ को पाठ्यक्रमको समग्र संरचनालाई सेरोफेरो, गणित र भाषा अन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषय क्षेत्रमा समायोजन गरी बहुविषयक र केही विषयगत क्षेत्रमा सङ्गठित गरिएको बताए । संरचनागत रूपमा गणित र भाषा विषयहरू बहुविषयक ढाँचामा निर्मित छन् । सिकाइ उपलब्धि तथा विषयवस्तुहरू अन्तरसम्बन्धित थिममा आधारित छन् भने सेरोफेरोमा समावेश भएका विषयहरूलाई अन्तरविषयक ढाँचामा एकीकृत गरिएको हुँदा उक्त विषयक्षेत्रको शिक्षण सिकाइ क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने इकाई प्रमुख थापाले बताए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका शैक्षणिक स्रोत ब्यक्ती वासुदेव उपाध्यायले एकीकृत पाठ्यक्रम सम्बन्धी जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए । विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी तयार गरिएको एक अर्को विषय बिचको उद्देश्यहरुसँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकीकृत पाठ्यक्रम भएको बताएका उपाध्यायले बताए । बहु विषयक र अन्तर विषयक ढाँचामा तयार गरिएका यस पाठ्यक्रम केवल प्रारूपमा मात्र नयाँ नभएर शैक्षणिक रूपान्तरण नै भएकोले यसको कार्यान्वयनमा साझा प्रयास अपरिहार्य रहेको उनको भनाई थियो । अहिलेको एकीकृत पाठ्यक्रमले तोकिएको सबै विषयका विषयबस्तु तथा क्षेत्रमा साझा थिम निर्माण गरेको छ । विद्यार्थीका दैनिक जीवनका यथार्थ समस्या समाधान गर्न सहयोग पु¥याउन सोचाई सिप, वैयक्तिक सीपहरु, अन्तरवैयक्तिक सिपहरु, सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु र नागरिक सिप पाँच क्षेत्रमा २९ वटा ब्यवहार कुशल सीपहरू रहेको उनले बताएका छन् । विषयगत रुपमा एकीकृत गरेर तोकिएका सिकाइ उपलब्धि वा सक्षमतालाई व्यवहार कुशल सिपसँग जोड्ने र बालबालिकाहरूले उक्त सिप हासिल गर्नका लागि बिभिन्न क्रियाकलापमा सरिक गराउँदै सिकाइ सक्षमतासँग जोड्ने कुरामा जोड दिंदै शिक्षकको क्षमता विकास गर्नुपर्ने कुरा सहजकर्ता उपाध्यायले बताएका छन् ।
‘एकीकृत पाठ्यक्रममा विद्यार्थी मूल्याङ्कन अर्को जटिल पक्षको रूपमा रहेको छ, विद्यार्थी मूल्याङ्कनलाई शिक्षण सिकाइसँग कसरी जोड्ने ? विद्यार्थी मूल्याङ्कन गर्दा निर्धारित सिकाइ उपलब्धि विद्यार्थीले के कति हासिल गर्न सके सकेनन् भन्ने लेखाजोखा गर्न सकिने प्रक्रिया र साधनको प्रयोग कसरी गर्ने ? सिकाइलाई कसरी श्रेणीकरण गर्ने ? सिकाइको अवस्था १, २ वा ३ रहने विद्यार्थीको लागि पटक पटक थप सिक्ने अवसर दिई सिकाइ स्तर ४ मा थप उपचारात्मक सिकइ कसरी गर्ने र त्यसपछि उपलब्धिस्तरलाई अक्षराङ्कन पद्धतिसँग मिलान गरी विद्यार्थीको सिकाइस्तरलाई ग्रेडिङ गनुपर्ने कुरामा शिक्षकहरूलाई सहायता पु¥याउनु पर्ने भएकोले पालिका स्तरमा हुने सहजीकरणमा त्यसतर्फ थप जोड दिनुपर्छ,’ उपाध्यायले भने । सहजीकरणकै क्रममा पाठ्यक्रम, शिक्षक निर्देशिका, विद्यार्थी कार्यपुस्तक र विद्यार्थी मूल्यांकन कार्यविधिको अन्तरसम्बन्ध र प्रयोगबारे पनि सहभागीबाट उठेका प्रश्नहरूको समाधान गर्दै आगामी दिनमा पनि परस्परमा सिकाइ तथा ज्ञान सिप आदान प्रदान गर्दै पाठ्यक्रमको कार्यान्वयनमा हातेमालो गरिने उपाध्यायले बताएका छन् ।
कार्यक्रममा विजया मावि दुल्लुका शिक्षक मनकुमारी न्यौपानेले अंग्रजी विषय र त्रिभुवन मावि दैलेखका शिक्षक शक्तिबहादुर बुढाले गणित विषयको पाठ्यक्रम, विद्यार्थी कार्यपुस्तकबारे सहजीकरण गरेका थिए । कार्यक्रममा अनुभव मन्तब्य राख्दै नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालजंग शाहले प्रशिक्षण कार्यक्रम प्रभावकारी भएको र पाठ्यक्रमको कार्यान्वयनका लागि शिक्षक तालिम यथाशिध्र सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा ११ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख र विषयगत रोष्टर शिक्षक गरी १५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया