पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष आ-आफ्नै घर फर्किने निर्णय

पेरिसडाँडामा विदाइ बैठक : प्रचण्ड र माधव पक्ष आ-आफ्नै घर फर्किने  निर्णय

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका छन्। सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड – माधव पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो। अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरू पेरिसडाँडामै रहने भएका छन्। आ-आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए। सर्वोच्च अदालतले नेकपा आधिकारिकता विवादको मुद्दामा आइतबार फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिदै एमाले र माओवादी केन्द्र व्युँताउने फैसला गरेको थियो। त्यो फैसलापछि अलगअलग हुने निर्णय गरेका हुन्।

पेरिसडाँडामा बैठकपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग हिँड्ने प्रतिक्रिया दिएका छन्। उनले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्नुका साथै पार्टीभित्र संघर्ष गर्ने दाबी गरे ।प्रचण्ड–माधव समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले अदालतको फैसला रिट निवेदन भन्दा बाहिर गएर फैसला गरेको प्रतिक्रिया दिए। उनले नयाँ ढंगले पार्टी एकीकरणको पहल हुने र सर्वोच्चको फैसला कार्यान्वयनको प्रक्रिया अन्तरगत माओवादी केन्द्र र एमाले अलग भएको बताए।

सर्वोच्च अदालतको आदेशपछि ओली निकटका नेताहरुले फैसलाको स्वागत गरेपछि प्रचण्ड-माधव पक्ष संकटमा परेको थियो। बैठकमा नेताहरुले पार्टी एकतालाई नयाँ शिराबाट छलफल सुरू गर्नुपर्ने धारणा राखेका छन्। यस अगाडि स्थायी कमिटी बैठकबाट बाहिरिदै गर्दा तत्कालीन एमाले एवम् प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले एकतालाई जोगाउन अध्यक्ष कमरेड प्रचण्ड र ओलीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्ने प्रतिक्रिया दिएका थिए। उनले बैठकमा एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने धारणा राखेको बताए।माधव-प्रचण्ड समूहका केन्द्रिय सदस्य एवम् तत्कालीन एमाले नेता विष्णु रिजालले एमाले केपी ओली, माधव नेपाल दुवैको भएकाले पार्टी ब्यूँतिएपछि हामी सबै एमाले भएको बताएका छन्। ट्वीटमा उनले भनेका छन्,‘सर्वोच्चको फैसलापछि उहाँ एमालेमा जाने वा नजाने भन्ने प्रश्नै रहँदैन। एमाले केपी ओलीको पनि हो, माधव नेपालको पनि हो। पार्टी ब्यूँतिएपछि हामी सबै एमाले नै रह्यौँ।’

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक अगाडि तत्कालीन एमालेको माधव पक्षको मात्र बैठक बसेको थियो। उनीहरु एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्दै पुन: पार्टी एकताको लागि पहल गर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले बताएका थिए। छलफलमा सहभागी नेताहरुले एकतालाई जोगाएर जान सकिने सम्भावनाको खोजी गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए।प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र एक्लै रहने छ भने झलनाथ-माधव समूह एमालेभित्र ओलीसँग अन्तर्संघर्ष गर्ने निष्कर्षमा पुगेको छ । संसदमा तत्लकालिन एमालेका १२०, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३,  जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। १२० मध्ये चालिस जति सांसदहरू प्रचण्ड नेपालतिर थिए। अब उनीहरु एमालेमै फर्केर संघर्ष थाल्ने बताएका छन्। नेता नेपालले एमाले निर्माणमा आफ्नो महत्वपूर्ण योगदान भएकोले एमाले छोड्न नसक्ने र त्यही फर्केर निर्णायक लडाइ लड्ने बताएका छन्। माधव पक्ष फर्किने भएपछि ओली एमालेभित्रै पनि थप दबाबमा पर्ने देखिन्छ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ।नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया