शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव

शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव

काठमाडौं : सरोकारवालाहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण देखाएर देशभरका विद्यालय बन्द नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न समेत सुझाएका छन्।उनीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताएका छन्। सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए-नभएकोबारे स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण प्रकाशमा आएको खण्डमा सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिनेलगायतका विषयमा सुझाव दिएका छन्। यसअघि आइतबार निजी तथा आवसीय विद्यालय अर्गनाइजेशनले विज्ञप्ति सार्वजनिक गर्दै सरकारले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव अघि सारेकोप्रति असन्तुष्टि जनाएको थियो। प्याब्सनले कोरोना त्रासका नाममा विद्यालय बन्द गर्नु ठिक नभएको भन्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठनलाई निरन्तरता दिनु उचित हुने बताएको छ। अब विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया