प्रधानमन्त्री ओलीले संसद्को विश्‍वास गुमाए

प्रधानमन्त्री ओलीले संसद्को विश्‍वास गुमाए

काठमाडौं : प्रधानमन्त्री केपी ओली संसद्‌बाट विश्वासको मत लिन असफल भएका छन्। विश्वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्वास प्राप्त गर्न असफल भएका हुन्।  

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको घोषणा सभामुख अग्नी सापकोटाले गरेका हुन्। विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३  मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ।

प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणित अनुसार सरकारका लागि  १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। 

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको जानकारी सभामुख अग्नी सापकोटाले राष्ट्रपति विद्या भण्डारीलाई दिनेछन्।  संसद्‌बाट विश्वासको मत नपाएपछि ओलीले अब राजीनामा दिनुपर्नेछ। उनलाई काम चलाउ प्रधानमन्त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन्। कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन्। बहुमतको आधारसहित आजै उनीहरूले राष्ट्रपतिकहाँ जाने तयारी छ। 

प्रतिक्रिया