कर्णालीको नीति तथा कार्यक्रम : महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारमा प्राथमिकता

कर्णालीको नीति तथा कार्यक्रम : महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारमा प्राथमिकता

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधारलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेशसभामा शनिवार प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्न स्वास्थ्य क्षेत्रको विकास र स्तरोन्नति गरिने उल्लेख छ ।नीति तथा कार्यक्रममा प्रदेश सरकारले महामारी नियन्त्रणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षण, स्वास्थ्य उपकरणको व्यवस्थापन, जिल्ला अस्पतालको स्तरोन्नति, संक्रमितको उपचार र जटिल प्रकारका संक्रमितको हवाइ उद्धार गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको विकास, दक्ष जनशक्तिको व्यवस्थापन र उपकरणको व्यवस्थापन गरिने उल्लेख छ ।कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँचसय शैयाको कोभिड अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । जहाँ संक्रामक रोगको उपचार गरिने छ ।

‘हामी महामारीलाई जित्छौं’ भन्ने आत्मविश्वासका साथ कोरोना महामारीविरुद्ध जुध्न प्रदेशका सबै जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने घोषणा पनि प्रदेश सरकारले गरेको छ । जसअन्तर्गत सबै जिल्ला अस्पतालहरुमा कम्तिमा एक भेन्टिलेटर, पाँच वटा आईसीयु कक्ष र पचास वटा शैया तत्काल व्यवस्थापन गरिनेछ । महामारी नियन्त्रणका लागि प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था, पर्याप्त अक्सिजनको उपलब्धता र औषधिको आपूर्ती गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै दुर्गमका जटिल प्रकृतिका संक्रमितको हवाइ उद्धार गरेर अस्पतालमा उपचार गराउने, गर्भवती तथा सुत्केरीको हेलिकोप्टबाट उद्धार गर्ने, अस्पतालमा भर्ना भएको संक्रमितको निशुल्क उपचार र पोषिलो खाना, महामारी नियन्त्रणमा सघाउन स्वमंसेवक परिचालन, आवश्यक स्वास्थ्यकर्मी तथा चिकित्सकको व्यवस्थापन, उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ताको व्यवस्था र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउने विषयहरु पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । त्यसैगरी सबै जिल्लामा अक्सिजन प्लान्टसहित सरुवा रोग अस्पताल स्थापना, सुर्खेतमा रहेको प्रदेश अस्पताललाई विषेशज्ञ शिक्षण अस्पतालको रुपमा विस्तार, एक स्थानीय तह, एक स्वास्थ्यकर्मी परिचालन कार्यक्रम र वीरेन्द्रनगरमा जनस्वास्थ प्रयोगशाला संचालन गर्ने उल्लेख छ ।

हरेक स्थानीय तहमा १५ शैयाका अस्पताल, टेलिमेडिसिन सेवा, जेष्ठ नागरिक लक्षित ‘प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रम’ र प्रदेशमा औषधि, स्वास्थ्य सामग्री तथा उपकरणहरुको सहज आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गर्ने घोषणा पनि नीति तथा कार्यक्रममार्फत गरिएको छ । धेरै पुराना कार्यक्रमहरुलाई यसपाली पनि निरन्तरता दिइएको छ । स्वास्थ्यसँगै कृषि, पर्यटन र सडक पूर्वाधारलाई पनि सरकारले प्राथमिकता दिएको छ । सुर्खेत विमानस्थलको विस्तार, जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडक निर्माण, भेरी–बबई आयोजनाको बाँधमा प्रदेशकै लगानीमा विद्युत उत्पादन, दुर्गममा आवासिय विद्यालय संचालन तथा खाना, नाना र छाना कार्यक्रम पनि संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शनिवार प्रदेशसभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ।

Karnali ko Niti-Karyakram-pdf For-Web

प्रतिक्रिया