तत्काल परीक्षा नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

तत्काल परीक्षा नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले कक्षा १२ सहित सबै परीक्षा तत्काल नगर्न सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरिएको हो । मृत्युदर १.५ र संक्रमितको दर पनि बढिरहेकाले परीक्षा सञ्चालन नगर्नुपर्ने स्वास्थ्य मन्त्रालयको अडान छ ।

‘संक्रमण बढिरहेकाे छ । यो अवस्थामा परीक्षा लिँदा झन् गाह्रो हुनसक्छ भनेर हामीले सुझाव दिएका छौं,’ स्वास्थ्य सचिव डा. रोशन पाेखरेलले भने ।

यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच छलफलसमेत भएको थियो । प्रधानमन्त्री देउवा पनि अवस्था सामान्य भएपछि र यो उमेर समूह (२० वर्षमुनिका किशोरकिशोरी) ले खोप पाएपछि मात्रै परीक्षा सञ्चालन गर्ने देखिएको स्रोतले जनाएको छ ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि कोरोना बढिरहेकाले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको बताएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बाेर्डलाई परीक्षा रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ । परीक्षा स्थगितको निर्णय राष्ट्रिय परीक्षा बोर्डले गनुपर्ने हुन्छ ।

प्रतिक्रिया