सम्झनामा स्वर्गीय पत्रकार डेकेन्द्र थापा

सम्झनामा स्वर्गीय पत्रकार डेकेन्द्र थापा

स्वर्गीय पत्रकार डेकेन्द्र थापा, स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १८ वर्ष अघिको पारिवारिक फोटो र स्वर्गीय पत्रकार डेकेन्द्र थापाबारे डकुमेण्ट्री ।

पत्रकार एवं अधिकारकर्मी डेकेन्द्र बाँचेको भए गएको वैशाख २० गते ५० वर्ष नाघेको हुन्थे । उनी ३३ वर्षको छँदा २०६१ साउन २७ गते तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीले हत्या गरे । डेकेन्द्रको अभावमा उनकी पत्नी लक्ष्मी थापा (४७), ठूली छोरी इञ्जिनियर नूतन थापा (२५), अहिले बीएस्सी नसिंङ पढ्दै गरेकी निशा थापा (२३) र छोरा निराजन विक्रम थापा (२०) का लागि हरेक सुखदुखमा खड्किइरहन्छ ।

डेकेन्द्रको हत्याकै कारण जेठी छोरी नूतन थापाको छोरी अर्थात नातिनी प्रिन्सीलाई देख्न पाएनन् । मोरङका इञ्जिनियर सुधीर निरौलासंग तीन वर्ष अघिको वैवाहिक सम्वन्धपछि २०७७ फागुन २४ गते अन्तरराष्ट्रिय महिला दिवसको दिन डेकेन्द्रको पहिलो नातिनी प्रिन्सी निरौलाको जन्म भएको हो ।

दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पत्रकार डेकेन्द्र थापा खानेपानी मर्मतका लागि भवानी तर्फ जान लागेको बेला बिना अनुमति आधार इलाकामा आएको भन्दै २०६१ असार १२ गते सोतको देसीगाडेबाट अपहरण गरी नियन्त्रणमा राखेको डेढ महिनापछि तत्कालिन युद्धरत पक्षले हत्या गरेको थियो ।

माओवादीले पत्रकार मारिएको घटनामा ठूलो आलोचना खेप्नु पर्ने डरले ४ दिनपछि मात्र साउन ३१ गते सार्वजनिक विज्ञप्ती जारी गरेको थियो । २०६० चैत १ गते तत्कालिन राजा ज्ञानेन्द्रको दैलेख भ्रमण कार्यक्रममा उद्घोषक भएको, माओवादी विरुद्ध सुराकी गरेका जस्ता आरोप लगाई हत्या गरेको थियो ।

डेकेन्द्रलाई मारिएको ठाउँ देखाए पत्रकार हत्याको आलोचना झन धेरै चोटिलो हुनसक्छ भनेर तत्कालिन नेकपा माओवादीले हत्या भएको ठाउँ र शवको अवस्था जनाउन चाहेन । माओवादीले त्यति नै बेला ‘हत्या गर्ने योजना नभई सामान्य नैसियत दिंदा नै संयोगले ज्यान गयो’ भनी पार्टीको केन्द्रीय नेतृत्वले माफी मागेको थियो ।

अहिलेको नौमूले गाउँपालिका–३ द्वारीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठाभित्र बेञ्चमा सुताएर माओवादी विरुद्ध सुराकी गर्न आधार इलाकामा आएको भन्दै पैतलामा लौरीले पिट्दै गर्दा डेकेन्द्रको प्राण गएको घटनाको अनुसन्धान र अदालती मुद्दा प्रकरणमा प्रत्यक्षदर्शीले बताएको उदृत छ ।
डेकेन्द्र ज्यान गएपछि माओवादीले विद्यालय नजिकै गाडेका थिए । गाड्नलाई काम लगाएका स्थानीयलाई समेत माओवादीले मारिएको ठाउँ नदेखाउन चर्को दवावका कारण कसैले देखाउन चाहेनन् ।

इन्सेकको तत्परता शव फेला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तत्परतामा डेकेन्द्रको शव पत्ता लगाइएको थियो । इन्सेकका तत्कालिन इन्सेक जिल्ला प्रतिनिधि नमनकुमार शाहीले तीन दिन लगाएर स्थानीयको सहयोगमा डेकेन्द्रलाई गाडिएको ठाउँ पत्ता लगाइएको थियो ।

हत्या घटनाको चार वर्ष भइसकेको र शान्ति प्रक्रिया सुरु भएको पनि दुई वर्ष भइसक्दा पनि घटना बारे कसैले भन्न चाहेका थिएनन् । तत्कालिन इन्सेक जिल्ला प्रतिनिधि शाहीका अनुसार भोलिपल्ट मजदूरी गर्न भारत जान लागेका एक जना स्थानीयले डेकेन्द्रको शव गाडिएको ठाउँ देखाएका थिए । ‘शव फलानोले देखाएको भनेर नभनी दिनू’ भनेर देखाउने मान्छेले अहिले पनि अनुनय गर्ने गरेको शाहीले सुनाए ।

काम विशेषले नौमूले पुगेको बेला शव गाडेको ठाउँसम्म पत्ता लाग्थ्यो कि भनेर तीन घण्टा पैदल हिंडेर द्वारी पुगेर सोधीखोजी गर्दा बल्लतल्ल भोलिपल्ट मजदूरी गर्न भारत जान लागेका एक जना स्थानीयले २०६५ असार ८ गते इन्सेक जिल्ला प्रतिनिधि शाहीलाई ठाउँ देखाइदिएका थिए ।

शाहीले त्यसबेला इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले डेकेन्द्र थापाको शव गाडिएको ठाउँ पत्ता लागेको केन्द्रमा जानकारी गराए । त्यस अनुसार इन्सेक केन्द्रीय कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघसंग समन्वय गरी २०६५ साउन १३ गते शव उत्खनन् गरेको थियो ।

स्वर्गीय पत्रकार डेकेन्द्र थापाले माओवादी नियन्त्रणमा छँदा पत्नीलाई लेखेको चिठ्ठी र स्वर्गीय पत्रकार डेकेन्द्र थापाको हत्यापछि तत्कालिन नेकपा माओवादीले प्रकाशित गरेको विज्ञप्ती ।

दाहसंस्कार र कानूनी उपचारको आधार
इन्सेककै समन्वयमा फरेन्सी विज्ञ प्राध्यापक डा. हरिहर वस्ती समेतको प्राविधिक टोली र अधिकारकर्मीहरुको रोहवरमा शव उत्खनन् गर्दा डेकेन्द्रको टीसर्ट र हापपैण्ट गलेको टुक्का, ढाड र देब्रे खुट्टाको तीघ्राको हड्डी चर्किएको अवस्थामा उत्खनन् गरिएको थियो ।

जिउको मासु गलिसकेको खित्लिक्क हड्डी मात्र बाँकी रहेको शव उत्खनन् गरेर सदरमुकाम ल्याई पु¥याएर पोष्ट मार्टमपछि परिवारले २०६५ साउन १८ गते धार्मिक विधि अनुसार श्रीस्थानमा लिई दाहसंस्कार गरेको थियो । शवको पोष्ट मार्टम रिपोर्टको आधारमा परिवारजनले कानूनी उपचारको प्रक्रिया सुरु गरेको थियो ।

डेकेन्द्र पत्नी लक्ष्मी थापाले २०६५ भदौ १३ गते दैलेख प्रहरीलाई डेकेन्द्रका हत्या गर्ने तत्कालिन माओवादी कार्यकर्ता मुक्ति भन्ने बमबहादुर खड्का लगायतका ४ जनाका नाममा किटानी जाहेरी दिइन् । किटानी जाहेरी दिएको साढे ४ वर्षपछि प्रहरीले मुद्दाको अनुसन्धान सुरुवात गरेको थियो ।

घटनापछि दैलेखमा नयाँ आउने सीडियो र प्रहरी प्रमुख समेतलाई डेकेन्द्रको हत्याका दोषीलाई कारवाही किन भएन भनेर दैलेखका पत्रकारले कुरा उठाइराख्ने क्रममा तत्कालिन भेरी अञ्चल प्रहरी इञ्चार्ज एसएसपी माधव नेपाल २०६९ पुस दोश्रो साता दैलेख आउनुभएको समयमा त्यो कुरा दोहो¥याएको बेला उनले अनुसन्धान अधिकृतले काम गर्नु प¥यो नि भनेर आदेश गर्नुपछि अनुसन्धान थालिएको थियो ।

तत्कालिन अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बिनोद शर्माले घटनास्थल पुगेपछि जाहेरीमा तोकिएका भन्दा तत्कालिन अरु माओवादी कार्यकर्ताको पनि संलग्नता खुल्यो । प्रहरी निरीक्षक शर्माले अनुसन्धानबाट संलग्नता खुलेका निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही र बीरबहादुर केसीलाई २०६९ पुस २० गते गिरफ्तार गरेर घटनाको अनुसन्धान थालिएपछि राष्ट्रिय राजनीति तरंगित भएको थियो ।

अहिले दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का, भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने समेत ४ जनाको विरुद्ध डेकेन्द्र पत्नी लक्ष्मीले किटानी उजुरी गरेकी थिइन् ।

प्रहरीले अनुसन्धान थालेपछि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालिन घटना अदालती मुद्दा बनाउन हुँदैन भनी दवाव दिएपछि केन्द्रीय राजनीति तातेको थियो । तत्कालिन महान्याधिवक्ता मुक्ति प्रधानले मुद्दा नचलाउन दैलेख प्रहरी र सरकारी वकील कार्यालयलाई दवाव दिए पनि नेपाल पत्रकार महासंघले देशैभर आन्दोलन गरेपछि सरकार हच्क्यो अनि मुद्दा अदालती प्रक्रियामा गएको थियो ।

 

डेकेन्द्र छोरीहरु नूनन, निशा, पत्नी लक्ष्मी र छोरा निराजन ।

अदालत न्यायिक प्रक्रिया
दैलेख जिल्ला अदालतले मुद्दाका तहकीकात सकेर २०७१ मंसिर २१ गते अनुसन्धानको क्रममा गिरफ्तार भएकाहरु चार जनालाई शव गाड्न मात्र संलग्नता देखिएको भन्दै कसूर अनुसार कैद सजाय र फरार भनिएका मुख्य चार जनाको हकमा मुल्तबी फैसला गरेको छ ।

तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामा रहेका निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती अदालतको फैसला हुँदा एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका थिए भने त्यसपछि पुनः अदालत मार्फत कारागार गई चार महिना २९ दिन कैदमा बसेर उनी पनि थुनामुक्त भएका थिए ।
हत्या घटनाका मुख्य आरोपितहरु चार जना दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का, भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने फरार रहेको कारण पक्राउ परेका बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले फैसला सुनाएको थियो ।

सजाय कम भएको भन्ने वादी पक्ष र आफूहरुले शव गाड्न मद्दत गरेकै कारण दोषी करार नहुनुपर्ने भनि प्रतिवादीहरूले पुनरावेदन अदालत सुर्खेतमा पुनरावेदन सम्वन्धमा तत्कालिन पुनरावेदन अदालत सुर्खेतका न्यायाधीशद्वय दीपकराज जोशी र कुमारप्रसाद पोखरेलको इजलासले २०७० असार २० गते जिल्लाकै फैसला सदर गरेको थियो ।

पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य चार जना आरोपीमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भनिने अहिले ४१ वर्षीय बमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरी २०७६ फागुन २२ गते परेपछि कर्तव्य ज्यान मुद्दा मुल्तवीबाट जागेको छ । अहिले उनी पुर्पक्षका लागि दैलेख कारागार थुनामा छन् ।

दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्काको मुद्दा तहकीकात चलिरहेको बेला दुल्लू नगरपालिका–६ का केशव खड्का, भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने अहिले पनि फरार छन् ।

माओवादीसंगको सामीप्यता र त्रास
माओवादी नियन्त्रणमा भएको बेला झण्डै एक महिना बिताएको बेला २०६१ साउन ९ गते पत्नी लक्ष्मीलाई लेखिएको चिठ्ठीमा डेकेन्द्र थापाले लेखेका थिए ‘मैंले खान चाहेको चिज खान पाएको छु, अपहरणमा परेका अरुहरुका भन्दा मलाई सम्मान जनक व्यवहार पाएको छु । साथीहरुसंग राम्रो हाँसखेल गरिरहेको छु, चिन्ता नगर्नू ।’

उनेले पत्नीलाई लेखेको चिठ्ठीको दोश्रो अनुच्छेदमा ‘यदि म मरेर जनयुद्धलाई सफलता मिल्छ अनि जनताको मुक्ति र उज्ज्वल भविष्यको लागि हाँसी हाँसी मर्न तयार छु’ भनेर लेखेको प्रसंगले माओवादीले मार्न सक्ने त्रास चाहिँ उनको मनमा कतै न कतै थियो भन्ने झल्काउँछ ।

समाजमा जातीय विभेद न्यूनीकरण, महिला माथि हुने हिंसा अन्त्य गर्न, मदिरा र जुवातास खेल्न विकृतिहरु निरुत्साहित पार्न त्यतिबेलाको सशस्त्र युद्धरत पक्ष नेकपा माओवादीले गरिरहेको प्रयासको खुलमखुला प्रशंसा गर्ने व्यक्ति भएको कारण डेकेन्द्रसंग माओवादीको जिल्ला नेतृत्व खुशी नै थियो ।

माओवादीका गाउँमा हुने गतिविधिको फोटो धुलाई ल्याइदिने, कतिपय बेला कार्यकर्तालाई चाहिने जुत्ता, जकेट, छाता जस्ता अतिआवश्यक बस्तुहरु सप्लाईका काम पनि माओवादीले काम लगाउने गरेको कारण पनि सम्वन्ध राम्रै थियो ।

२०५८ चैतमा पहिलो पटक माओवादीले सदरमुकामको खानेपानी आपूर्ति हुने कालेखोला मुहानबाटै पानी बन्द गरे । सेनाले थुनामा राखेको व्यक्तिहरु छुटाउन पत्रकार र मानव अधिकारवादीलाई मुहान क्षेत्रमै बोलाएर माओवादीले माग राखेका थिए ।
माओवादीले गरेको भेटघाटको बेला खानेपानी उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खड्का अनुपस्थित भएका कारण अध्यक्ष चयनको प्रस्ताव पनि माओवादीले त्यही गराएका थिए । त्यस अनुसार दुई सातापछि सदरमुकाममा भएको उपभोक्ता भेलाबाट डेकेन्द्र उपभोक्ता समितिका अध्यक्ष बनेका थिए ।

मर्सिकोर संस्थाले द्वन्द्वले पारेको प्रभाव विषयमा अध्ययन गर्न आउदा पनि समुदाय र माओवादीको जिल्ला नेतृत्वसंग डेकेन्द्रले भेटघाट गराएका थिए । यी सबै कुराले माओवादी र डेकेन्द्रको सम्वन्ध राम्रो थियो भन्ने देखिन्छ । डेकेन्द्र मारिएपछि ‘नैसियत दिंदा संयोगले मरेको’ भन्नुले पनि सम्वन्ध सामीप्यता तर परिवारजनलाई लेखेको चिठ्ठीले अपहरणपछि चाहिँ डेकेन्द्रमा त्रास पैदा भएको प्रष्ट हुन्छ ।

डेकेन्द्र बहुआयामिक व्यक्ति
हत्या हुँदा पत्रकार थापा ३३ वर्षका थिए । राम्रो उद्घोषण कला, लोक देउडाका गायक र राजनीतिमा सक्रियतासँगै मानव संसाधन केन्द्र नामक संस्थाका अध्यक्षको हैसियतमा उनले समाज सेवा गर्दै आएका थिए ।
माओवादीबाट हत्या गरिंदा उहाँ रेडियो नेपालको दैलेख सम्वाददाता, मानव विकास श्रोत केन्द्र संस्थाका अध्यक्ष, दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष लगायतका सामाजिक कामको जिम्मेवारीमा थिए ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको क्रममा मारिएका १३ हजार २ सय ३६ जना मध्ये सायद सबै भन्दा धेरै चर्चा पाएको घटना डेकेन्द्र हत्या प्रकरण नै हो । मानव अधिकार न्यायको निम्ति जुटेको एक निहत्था व्यक्तिको निर्मम हत्या भएको कारण पनि चर्चा भएको हो, माओवादी शव लुकाउने चेष्टा र मुद्दा चल्न रोक्ने खोजेको कारण पनि पटक पटक चर्चा भएको हो ।

पत्रकार डेकेन्द्र हत्या घटनादेखि ‘न्यायको लडाईं’को घटनाक्रम संगालेर पत्रकार जनक नेपालले न्यायको लडाईं भिडियो डकुमेण्ट्री बनाउनुभयो, जिल्ला विकास समिति दैलेखले डेकेन्द्र स्मृति प्रतिष्ठानलाई तीन लाख रुपैंयाँ अनुदान दियो, डेकेन्द्रका बालबालिकालाई शिक्षा आर्जनमा नेपाल पत्रकार महासंघले सघाएको छ । यी सहयोग र सदभाव डेकेन्द्रको अपूरो रहेको कल्याणकारी कामले कहीँ नै कतै सघाउ पुग्ला भन्ने अपेक्षा गर्न सकिन्छ ।
(सुनार डेकेन्द्रका सहपाठी साथी हुन् ।)

प्रतिक्रिया