ख्याल गर्नुहोस्, दशैंमा संक्रमणको जोखिममा पर्न सक्छ गाउँ

ख्याल गर्नुहोस्, दशैंमा संक्रमणको जोखिममा पर्न सक्छ गाउँ

दैलेख : गत वर्षको तुलनामा यो वर्ष दशैंमा सहरबाट थातथलो फर्कनेको संख्या बढी देखिएको छ । कोरोना भारइरस (कोभिड–१९)को संक्रमण घट्दै जानु र कोरोना खोप लगाउनेहरुको संख्या धेरै हुनुले पनि मानिसहरु कोरोना भाइरसको डर नमानी गाउँ फर्किरहेका छन् ।

वर्ष दिनमा एक पटक आउने चाड दशैंमा घर फर्कने हाम्रो परम्परा नै हो । त्यसैले शिक्षा, रोजगारी एवं व्यवसयिक रुपले थातथलो छाडेर देश तथा विदेशमा पुगेका नेपालीहरु दशैंको बेला पारेर घर फर्किन्छन् । सार्वजनिक यातायातमा भीडभाडको प्रवाह नै नगरी गाउँ फर्कँदा यात्राकै क्रममा कोरोना संक्रमण हुने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् ।

कसरी हुन्छ जोखिम ? 

सार्वजनिक यातायातमा यात्रा गर्दा आमने–सामने भएर बस्नुपर्ने बाध्यताका कारण कोरोना संक्रमणको जोखिम हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन   बताउँछन् । डा. पुन भन्छन्, ‘गाडीभित्र भौतिक दूरी कायम गर्न सम्भव पनि हुँदैन । यात्रुहरुबीच एकअर्कासँग भलाकुसारी गर्ने, हाँसोठट्टा गर्ने गर्छन् । यसबेला उनीहरुले न शारीरिक दूरीको ख्याल राख्छन्, न मास्कको नै प्रयोग गर्छन् । यसले पनि संक्रमण फैलने जोखिम बढाउँछ ।’

उनले अघि भने, ‘प्रायः चालक एवं सहचालक धेरै व्यक्तिसँग सम्पर्कमा हुने भएकाले उनीहरु पनि कोरोना भाइरसको जोखिममा हुन्छन् । सार्वजनिक यातायातले ठाउँ–ठाउँमा क्षमताभन्दा बढी यात्रु चढाउने–ओराल्ने गर्दा संक्रमण फैलने जोखिम बढ्छ ।’

जोखिमबाट बच्ने गरी यात्रा कसरी गर्ने ?

सार्वजनिक यातायातको साधन प्रयोग गर्दा यात्रु स्वयंमले उच्च सर्तकता अपनाउनु पर्ने डा. पुनको सुझाव छ । यात्रा गर्दा सुरक्षित ढंगले गुणस्तरीय मास्कको प्रयोग गर्ने गर्नुपर्दछ । गाडीभित्र रहेका चालक–सहचालकसहित सबै यात्रुलाई मास्क लगाउन उत्प्रेरित गर्नुपर्ने डा. पुनको भनाइ छ ।

यात्राको क्रममा अन्य यात्रुसँग हेलमेल नगर्ने, कुराकानी नगर्ने, चालक तथा सहचालकको सम्पर्कमा नरहने, कसैसँग बोल्नै परेमा मास्क अनिवार्य लगाउने, सम्भव भएसम्म आफैंले बनाएर लगेको खानेकुरा खाने, होटल वा बाहिर नखाने, गाडीबाट ओर्लिएपछि साबुन पानीले राम्रोसँग हात धुन डा. पुनको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालनामा हेलचेक्र्याइँ नगर्न सुझाव दिन्छन् ।

यात्रा गर्दा सही तरिकाले मास्क लगाउन, गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा सेनिटाइजरले हात सफा गर्ने, सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानी गर्ने, आवश्यक खानेकुरा आफैं बोक्ने, होटलमा खानै परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने, अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुन डा. पौडेलले अनुरोध गरिन् ।

प्रतिक्रिया