सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

सल्यान : जिल्लाको सल्यानको कपुरकोट गाउँपालिकाले सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै सल्यानमा सुनौलो हजार दिनका आमालाई कुखुरा वितरण गरिएको हो ।

कुपोषणको कुचक्रलाई तोड्न र पोषणमा सुधार ल्याउन भन्दै जिल्लाको कपुरकोट गाउँपालिको कुखुरा वितरण गरेको हो । पालिका भित्रका १६५ सुनौला हजार दिनमा आमाहरूलाई हेम सायर जातको कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयमा तुलनामा पोषणको बढी आवश्यकता पर्छ । यस समयमा पोषण सुधारमा ध्यान दिन सकिएन भने महिलालाई जटित समस्या आउन सक्ने अवस्थालाई ध्यान राखी कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । ‘गाउँघरमा अझै पनि गर्भवती तथा सुत्केरी महिला पोषणयुक्त चिज खान नपाइरहेको अवस्थामा छ । जसका कारण कुपोषणको मात्रा पनि बढी रहेको छ । कुपोषणको मात्रा घटाई पोषणमा सुधार ल्याउनु यसको मुख्य उद्देश्य रहेको छ उनले भने ।

कुपोषणको जोखिममा रहेका बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्वमात्र भएको भएपनि यो सँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान दिन सकुन् भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताए ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ दिन अर्थात जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौला हजार दिनका आमाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

प्रतिक्रिया