सुनसरी -३ मा गच्छदारलाई हराउँदै एमालेकी चौधरी विजयी

सुनसरी -३ मा गच्छदारलाई हराउँदै एमालेकी चौधरी विजयी

काठमाण्डौ : सुनसरी निर्वाचन क्षेत्र नम्बर -३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याए । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराए । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । यसअघि २०७० र २०७४ को चुनावमा चौधरीलाई झिनो मतले पराजित गरेका गच्छदार यस पटक भने आफू पराजित भएका छन् ।

को हुन् भगवती चौधरी ?

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपल्ट भाग लिएकी उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरीले पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट पुनः गच्छदारसँग पराजित बनिन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न भन्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छिन् । समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी पिएचडी अध्ययनरत हुन् । सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साबिक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो ।

उनले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । ०७० सालमा कोसी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बनेकी छिन् ।

प्रतिक्रिया