अन्तर्राष्ट्रिय बाल अधिकार दिवस : शिक्षा र विकासको अवसर जरुरी

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस : शिक्षा र विकासको अवसर जरुरी

दैलेख मंसिर ४ ।
प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल पार्न बालबालिकाको उचित शिक्षा र विकासको अवसर पाउनुपर्ने बताउनु भएको छ । ‘‘सुखी नेपाली, समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो विचार राख्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले स्थानीय तहका साधन श्रोत बालबालिकाको शैक्षिक विकास र सहभागितामूलक कार्यक्रम लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले पछिल्लो समय बालिका माथि हुने गरेको बलात्कार तथा यौन दुराचार घटनाका दोषीहरुलाई कडा कार्वाही गर्न प्रहरी प्रशासनको तत्परता हुनुपर्ने सुझाव दिनुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बालअधिकार प्रवद्र्धनमा सरकारी तहबाट धेरै प्रयासहरु भइरहे पनि समुदायको सहयोग नपाएको गुनासो गर्नुभयो । नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खगेन्द्रबहादुर मल्ल लगायतले अन्तर्राष्ट्रिय बालअधिकार दिवस र यसको महत्व बारे प्रकाश पार्नुभएको थियो ।


त्यस अवसरमा नारायण नगरपालिका क्षेत्रभित्रका माध्यमिक विद्यालयहरुवीचको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा सरस्वती मावि तर्ताङ्ग प्रथम, महेन्द्र मावि सोत द्धितीय, त्रिभुवन मावि दैलेख बजार तृतीय र रेडक्रस मावि भूर्तीले सान्त्वना स्थान हासिल गरेका थिए ।

दैलेख सदरमुकाममा आयोजित कार्यक्रम नारायण नगरपालिका, महिला तथा बालबालिका शाखाको आयोजना जिल्लामा बालबालिकाको क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै आएका सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख लगाएतका सरकारी तथा गैससको सहयोग रहेको थियो । यस्तै दिवसको अबसरमा दैलेखका ११ वटै स्थानीय तहहरुमा विविध कार्यक्रमको आयोजना गरिएको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया