पाँचथरमा २ परिवारका ९ जनाको हत्या

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

काठमाडौँ – पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। हत्या गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ बालिका घाइते भएकी छन् ।

राससले घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङलाई उद्धृत गर्दै गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उल्लेख गरेको छ ।

यस्तै धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको राससले उल्लेख गरेको छ ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका हुन्। उनले भने, ‘गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए। ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ। उनी घाइते छन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएको छ।’

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो। घटनाबारे जानकारी आउने वित्तिकै नजिकैको प्रहरी चौकीबाट प्रहरी खटाइएको उनले टेलिफोनमा कान्तिपुरलाई जानकारी दिए। उनले भने, ‘निकै विभत्स घटना भयो। जानकारी पाउने वित्तिकै नजिकैको चौकीबाट प्रहरी पठाइयो भने जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली पनि घटनास्थल गइसकेको छ।’
वस्तीका अनुसार नजिकैको चौकीबाट घटनास्थल २०/२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ। नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको उनले जानकारी दिए। विकट ठाउँ र कच्ची बाटो भएकोले तत्काल घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए।
गाउँलेको भनाइ उद्धृत गर्दै वस्तीले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन्।प्रजिअ वस्तीले डिएसपी नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताए।

प्रतिक्रिया