‘मैले श्रीमान्‌को हत्या गरेँ, मलाई कारबाही होस्’ भन्दै प्रहरीमा पुगेपछि

‘मैले श्रीमान्‌को हत्या गरेँ, मलाई कारबाही होस्’ भन्दै प्रहरीमा पुगेपछि

रुकुम पश्चिम : मुसीकोट नगरपालिका–८, किटनीकी ५० वर्षीया डल्ली बुढा आइतबार बेलुकी सवा ५ बजेतिर जिल्ला प्रहरी कार्यालय पुगिन् । चक्कुसहित पुगेकी उनी आफू अन्यायमा परेर निवेदन वा उजुरीका लागि भने पुगेकी थिइनन् ।

आफैले अपराध गरेको र कारबाहीका लागि उनी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । ‘मैले श्रीमानको हत्या गरें, मलाई कारबाही होस्’ भन्दै उनी जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् । त्यसपछि प्रहरीको टोली किटनी गएको थियो । उनको घरमा पुगेपछि उनका ३९ वर्षीय श्रीमान चित्रहादुर थापाको शव भेटियो । आइतबार विहान ४ बजे भएको घटनाको मुचुल्का उठाएर जिल्लासम्म शव ल्याउन बेलुकी ९ बजेको थियो ।

‘बिहान उठेपछि नै दुवैजनाबीच विवाद सुरु भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने, ‘त्यसपछि बढेको विवादमा श्रीमतीले चक्कु प्रहार गरेको देखियो ।’ चक्कु साथमै लिएर जिल्ला प्रहरी कार्यालयमै आएपछि प्रहरी टोली घटनास्थलमा गएको डीएसपी केसीले बताए । घटनास्थलमा धािरलो हतियार प्रयोग गरी हत्या गरेको शव भेटिएपछि अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धानकै क्रममा रहेको डीएसपी केसीले बताए । डल्ली चित्रबहादुरकी कान्छी श्रीमती हुन् । एकान्तमा घर रहेका कारण अरुले सजिलै घटनाको बारेमा थाहा पाएनन् । प्रहरी पुगेपछि मात्रै अरु स्थानीयले घटनाबारे थाहा पाएको वडाध्यक्ष बुद्धिप्रसाद बुढाले बताए ।

प्रतिक्रिया