पार्टीले कम कसरत गरेकै कारण धेरै सीट गुमाउनु प¥यो

पार्टीले कम कसरत गरेकै कारण धेरै सीट गुमाउनु प¥यो

सुर्खेत :नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेको भए अझ धेरै सीट जितिने बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै उनले गठबन्धनको साहरामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सीट गुमाउनु परेको बताए ।

स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह अस्पष्ट हुँदा मत बदर भएकाले पनि आफ्नो पार्टीले धेरै सीट गुमाउनु परेको अध्यक्ष नेपालको भनाई छ।

‘मतदातामा चुनाव चिन्हको अस्पष्टताले सीट गुमाउनुप¥यो । निर्वाचन प्रणालीमा पनि त्रुटी प्रकट भए। यसको सुधार हुनुपर्छ। प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिका प्रति गम्भिर आरोप छन्,’ अध्यक्ष नेपालले भने, ‘पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। वस्तु जस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन।’

यद्यपी स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको बताए ।  ‘कतिपय स्थानमा योग्य, सक्षम, अनुभवी र लोकप्रिय काबिल व्यक्ति उम्मेदवार विजय भएकोले गर्व गर्न लायक सफलता प्राप्त भएको निश्कर्ष निकालेका छौं’ अध्यक्ष नेपालले भने, ‘निर्वाचित जनप्रतिनिधीले आफ्नो योग्यता र प्रभावकारीता देखाउदै आफ्नो पालिकालाई नमूना पालिका बनाउन पार्टीले उहाँहरुलाई प्रशिक्षित र उत्प्रेरित बनाउने छ।’

साथै, उनले सत्तागठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताए । दलहरुबीच चुनावी समिक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धन सरकारले जनभावना अनुसारको नीति कार्यक्रम र बजेट ल्याएको बताए। ‘संसद बन्द गरी बजेट ल्याएको भए चुनावी बजेट भन्न सकिन्थ्यो । यो चुनावी बजेट होइन। चुनावको बेला परेको बजेट हो’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया