नमुना भैँसीपालनतर्फ किसानको आर्कषण बढ्दो

नमुना भैँसीपालनतर्फ किसानको आर्कषण बढ्दो

सल्यान : शारदा नगरपालिका– १ पटनेरीका प्रकाश केसीले व्यावसायिक भैंसीपालन गर्दै आएको एक दशक भयो । २०६८ सालदेखि व्यवसाय शुरु गर्नु भएका केसीसँग अहिले भैंसी र जर्सी गाई गरेर १९ जीउ छन् । त्यसमध्ये ८ वटा भैंसी र एक वटा जर्सीगाई दुहुना छन् ।
उनले भैंसीगोठमा बत्ती र पंखा जडान गरेका छन् ।

‘भैंसीपालनलाई व्यावसायिक र नमूना बनाउँदै लगेको छु, भैंसीको गोठमा नै बत्ती र पंखा जडान गरेको छु, रातको समयमा घाँस खुवाउनका लागि र बिहानै भैंसी दुहुनका लागि बत्ती आवश्यक छ, बत्ती बालियो भने सर्पलगायतका केही पनि गोठमा जादैनन्,’ उनले भने, ‘गर्मीयाममा शीतलता प्रदान गर्नको लागि पंखा जोडेको छु, चैत, बैशाख, जेठ, असार र भदौंमा पंखाले काम गर्छ, पंखाले शीतलता मात्र होइन, झिंगा बस्न समेत दिदैन ।’सल्यानका कृषकहरुले प्रविधिको सदुपयोग गर्दै व्यावसायिक भैँसीपालनलाई नमूना बनाएका छन् ।

प्रकाश केसी एक उदाहरण मात्र हुन् । उनी जस्तै सल्यानका कृषकहरु प्रविधिको सदुपयोग गर्दै व्यावसायिक भैँसीपालनतर्फ अग्रसर छन् । भैँसीपालन व्यवसायलाई नमूना बनाएका छन् । किसानहरुले दूध उत्पादनको लागि घाँस, दानापानीमात्रै होइन भैंसीगोठमा बत्ती र पंखा जडान गरेर सिजनअनुसारको स्याहारमा ध्यान दिन थालेका छन् ।

भैंसीगोठमा बत्ती र पंखा जडान

भैंसीपालन व्यावसायलाई व्यवस्थित र नमूना बनाउँदै उत्पादनमा बृद्धि गर्नको लागि भैंसीगोठमा बत्ती र पंखा जडान गरेको कृषकहरुको भनाइ छ । भैंसीपालनमा अलि झन्झट त छ तर उपयोगिता त्यसको कैयौं गुणा बढी रहेको किसानहरु बताउँछन् ।

भैंसीलाई घाँस, दानापानीसँगै गोठ सफा सुग्घर र आरामदायी वसाई व्यवस्थापन गरेपछि दुध उत्पादनमा कमी नआउने केसी बताउँछन् । ‘भैंसीलाई समयानुकूल बस्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसो हुँदा भैसीले दूध घटाउँदैन्, आफ्नोभन्दा बढी स्याहार गरेको खण्डमा भैंसीबाट धेरै नै फाइदा लिन सकिन्छ’,उनले भने,  ‘अहिले दैनिक ६५ लिटर दूध उत्पादन भैरहेको छ ।’
जेठ महिनामा मात्रै एक लाख ५२ हजार रुपैयाँको दूध बिक्री गरेको उनको भनाइ छ ।

१५ लाखमा जग्गा किनेर व्यवसाय सञ्चालन गरेका उनले २५ लाखबढी लगानी गरिसकेका छन् । ३२ रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको र पराल मात्रै किन्ने गरेको उनले बताए । भैंसीपालन गर्न थालेदेखि दूधको माग थेक्न नसकेको उनको भनाई छ ।

यस्तै पटनेरीमा ३० लाख रुपैयाँ लगानी गरेर भैंसीपालन गर्दै आएका मेघराज खड्का र ज्ञानबहादुर केसीसँग अहिले सानाठूला गरेर १७ वटा भैंसी छन् । तीमध्ये ७ वटा भैंसी दुुहुना छन् । साझेदारीमा भैंसीपालन गर्दै आउनुभएका उहाँहरुले दैनिक ५५ लिटरसम्म दूध उत्पादन गरी रहेका छन् । ‘यसलाई व्यावसायिक बनाउँदै भैंसीको संख्या थप्ने योजना छ, ’खड्काले भने ।

जिल्ला भर करिब ५० बढी कृषकहरुले व्यावसायिक रुपमा भैंसीपालन गर्दै

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार जिल्ला भर करिब ५० बढी कृषकहरुले व्यावसायिक रुपमा भैंसीपालन गर्दै आएका छन् ।

कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले जिल्लामा भैंसीपालन गर्नेको संख्या बढेसँगै जिल्ला दूधमा आत्मनिर्भर बन्न थालेको बताए । जिल्लाको दार्मा गाउँपालिका, त्रिबेणी गाउँपालिका लगायतका बिभिन्न पालिकाहरुमा भैंसीपालनलाई व्यावसायिक बनाउँदै दूधमा आत्मनिर्भर बनाउनका लागि उन्नत जातका भैंसी वितरण लगायतका विभिन्न कार्य गर्दै आएको उनको भनाई छ ।

उनले भैंसीको घाँस, दानापानी, गोठको उचित व्यवस्थापन, स्याहारलगायतका बिभिन्न पक्षमा ध्यान दिन सकिएमा दूध उत्पादनमा थप बृद्धि गर्न सकिने बताउँछन् ।

 

 

प्रतिक्रिया