कर्णाली सरकारद्धारा १५ दिनमा १० अर्ब बढी रकम भुक्तानी

कर्णाली सरकारद्धारा १५ दिनमा १० अर्ब बढी रकम भुक्तानी

सुर्खेत :  कर्णाली प्रदेश सरकारले असार मसान्त सकिनै लाग्दा १५ दिनमा १० अर्ब बढी रकम भुक्तानी दिएको छ । प्रदेश सरकारले असार १५ गते यता १० अर्ब २३ करोड ४९ लाख ४३ हजार सात सय २८ रुपैयाँ भुक्तानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये असार २५ गतेसम्ममा २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार सात सय ७५ रुपैयाँ खर्च गरेको छ। जुन कुल बजेटको ६२ दशमलव ३७ प्रतिसत हो।

प्रदेश सरकारले असार १५ गतेसम्म १३ अर्ब ७६ करोड २१ लाख १६ हजार चार सय ९६ रुपैयाँ खर्च गरेको थियो।
असार २५ सम्ममा सरकारले चालुतर्फ ९ अर्ब १२ करोड ८१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फ १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार चार सय २६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए ।

कुन मन्त्रालयको खर्च कति ?

विकासे मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने ५० प्रतिसत पनि खर्च बढाउन सकेन । मन्त्रालयले कुल विनियोजित बजेटको ४७ दशमलव ७३ प्रतिसत मात्रै खर्च गरेको छ। जसमध्ये यो मन्त्रालयको पुँजीगत तर्फ ६ अर्ब ९ करोड २४ लाख तीन सय २० रुपैयाँ र चालुतर्फ १९ करोड ४५ लाख ७९ हजार एक सय ६६ रुपैयाँ खर्च गरेको छ।

मुख्यमन्त्री कार्यालयले कुल बजेटको ६७ दशमलव ६८ प्रतिसत, आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल विनियोजित बजेटको ७१ दशमलव ७८ प्रतिसत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कुल विनियोजित बजेटको ६५ दशमलव ४२ प्रतिसत, जलस्रोत तथा उर्जा विकास मन्त्रालयले कुल विनियोजित बजेटको ७२ दशमलव ९९ प्रतिसत खर्च गरेको छ।

यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कुल विनियोजित बजेटको ७५ दशमलव २९ प्रतिसत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुल विनियोजित बजेटको ३८ दशमलव १७ प्रतिसत, र सामाजिक विकास मन्त्रालयले कुल विनियोजित बजेटको ७३ दशमलव ३२ प्रतिसत बजेट खर्च गरेका छन्।

प्रतिक्रिया