अमेरिका एक चीन नीतिविरूद्ध गयोः नेकपा

अमेरिका एक चीन नीतिविरूद्ध गयोः  नेकपा

काठमाडौँ : नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धारणा राखेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीतिविपरीत भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीन विरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको उल्लेख गरे । उनले अमेरिकी संसदको सभामुखले ताइवानको प्रमुख शहर ताईपेईको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने जिकिर गरे ।

अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि सारेर चीनविरुद्ध गतिविधि गरिरहेको बताए । उनले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनविरुद्धका गतिविधि गरिरहेको उल्लेख गरे ।

त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीन विरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको बताए । उनले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको जनाए ।

अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पारे । उनले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हितमा समर्पित भएको संकेत गरेको आरोप लगाए । उनले सरकार नेपालको हितलाई छोडेर शक्तिको हितमा समर्पित रहेको बताए ।

अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताए ।

प्रतिक्रिया