कर्णालीमा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन

कर्णालीमा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन

सुर्खेत :  नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा कर्णालीका ३ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । कर्णालीसहित प्राधिकरणले देशभरका १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माण गर्न लागेको हो । प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो ।

कर्णालीमा डोल्पाको मसिनेचौर विमानस्थलले टर्मिनल भवन बनाउन १५ लाख रूपैयाँ बजेट पाएको छ। मसिनेचौरमा आर्थिक वर्ष २०७२/०७३ बाट टर्मिनल भवन बनाउन बजेट विनियोजन हुँदै आएको छ।

त्यसैगरी यो वर्ष जुम्ला विमानस्थलका लागि एक करोड, मुगुको रारा विमानस्थलको टर्मिनल भवनका लागि पाँच करोड रूपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा आठ करोड ६५ लाख रूपैयाँमा निर्माण हुने गरी यसको निर्माण सम्झौता भएको थियो।

देशभरका विमानस्थल सुविधा–सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ।

साथै, निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले संखुवासभाको तुम्लिङटार विमानस्थलमा यो वर्ष ६ करोड, अछामको साँफेबगर विमानस्थलमा बहुवर्षीय आयोजना अन्तर्गत नयाँ टर्मिनल भवन बनाउन ५० लाख, भक्तपुर नलिञ्चोकमा हेलिप्याडमा नयाँ टर्मिनल भवन निर्माणका लागि एक करोड रूपैयाँ विनियोजन गरेको छ ।

साथै, अर्घाखाँचीका लागि एक करोड, डोटीका लागि दुई करोड ६५ लाख बजेट परेको छ। डोटी विमानस्थलमा आर्थिक वर्ष २०७८/०७९ बाट टर्मिनल भवन बनाउन सुरू भएको हो। यहाँ बन्ने टर्मिनल भवनको कुल लागत पाँच करोड ९ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर बनाउन २६ करोड २१ लाख, रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर बनाउन एक करोड ४१ लाख, बैतडीको पाटन विमानस्थलमा करोड ५३ लाख रूपैयाँ विनियोजन भएको छ ।

यसैगरी, भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवनका लागि १९ करोड ४२ लाख, इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा एक करोड ३७ लाख, महेन्द्रनगरमा एक करोड ७६ लाख, विराटनगर विमानस्थलमा २५ करोड ७६ लाख रूपैयाँ बजेट परेको छ ।

प्राधिकरणले बझाङ विमानस्थलमा सुरक्षा गार्ड भवन बनाउन एक करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको छ। बहुवर्षीय आयोजनाअन्तर्गत सिमरा विमानस्थलमा नयाँ टर्मिनल भवनका लागि २२ लाख रूपैयाँ बजेट छुट्याइएको छ।

प्रतिक्रिया