मंसिर ४ मा हुने चुनाव एमालेले हार्नै मिल्दैन : ओली
![मंसिर ४ मा हुने चुनाव एमालेले हार्नै मिल्दैन : ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/kp_oli_XLYUvYYPt5_zqb50ixsgbknotvilzw9fqnj8bzo1i0fqvs1r3havazjlf4rfcobhz7zokyx.jpg)
फाइल तस्बीर
काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीले हार्नै नमिल्ने तर्क गर्नुभएको छ । आफ्नो पार्टीले त्यो चुनाव हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आज शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आउँदो चुनाव जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।
सत्तारूढ गठबन्धन र त्यसका नेताहरूले देशलाई दुरगतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा विजयी हुनुको विकल्प नभएको बताए ।
उनले भने, ‘मुख्य फोकस चाँहि चुनावको तयारीमा काम गर्ने हो । अहिलेको चुनाव हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ ।
राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर एमालेले हार्दा देश हार्छ ।
एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुर्गतिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ ।
प्रतिक्रिया