परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

काठमाण्डौ :  परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्।

उनले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।

भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्न वातावरण बनाउने नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर चीनले नेपाललाई प्रतिक्रिया दिँदै आएको थियो ।

एमसीसीलाई संसद्बाट अनुमोदन गरेको नेपालले एसपीपीलाई भने अस्वीकार गर्ने निर्णय गरेको छ । एमसीसी अनुमोदन भएको एक महिना नबित्दै गएको चैतमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए ।

यस्तै, गएको असारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया