सिट बाँडफाँड कार्यदल समितिको बैठक आज बस्दै

सिट बाँडफाँड कार्यदल समितिको बैठक आज बस्दै

काठमाडौं :  सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसबाट ३ र अन्य दलबाट २–२ जना सदस्य छन्।

यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कार्यदल संयोजक चयन गरेको थियो। कार्यदलले सबै दललाई सम्मानजनक सिट बाँडफाँटको खाका तयार गरेर साउन मसान्तभित्र शीर्ष नेतालाई दिएपछि शीर्ष नेताले यसको टुंगो लगाउने तयारी छ ।

आगामी निर्वाचनका लागि कांग्रेसले ६० प्रतिशत सिटमा दाबी गर्ने तयारी गरेको छ। तर माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी पनि धेरै सिटमा भएका कारण कार्यदललाई खाका तयार गर्न कठिन हुने देखिन्छ ।

साउन २३ गते नै बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले धरातलीय यथार्थका आधारमा सिट बाँडफाँट हुनुपर्ने निश्कर्ष निकालेको थियो ।

 

प्रतिक्रिया