महिलाभन्दा पुरुषमा क्यान्सरको जोखिम बढी

महिलाभन्दा पुरुषमा क्यान्सरको जोखिम बढी

पछिल्लो एक अध्ययनअनुसार महिलाभन्दा पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको छ । करिब १६ वर्षसम्म गरिएको अध्ययनले पुरुषमा ट्युमर हुने जोखिम बढी रहेको देखाएको हो ।

धुम्रपान, मद्यपानलगायतका कारण पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको हो । अमेरिकन क्यान्सर सोसाइटीले गरेको अध्ययनमा त्यस्तो पाइएको हो ।

पुरुषमा १.३ देखि १०.८ गुणा बढी क्यान्सर हुने जोखिम देखिएको हो । सबभन्दा बढी इसोफाजिल क्यान्सर (मुखदेखि आन्द्रासम्म जोडिने नली) को जोखिम (१०.८ गुणा) रहेको छ । यसैगरी पुरुषमा थाइरोइड र पित्त थैलीको क्यान्सर भने महिलामा भन्दा कम देखिएको छ ।

सो अध्ययनमा २ लाख ९४ हजार १ सय जनालाई सामेल गरिएको थियो । अध्ययन नतिजाले क्यान्सर लाग्न नदिन सचेत गराउने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।

क्यान्सरको कारक जीवनशैली !
महिलाभन्दा पुरुषमा क्यान्सर बढी हुनुका कारण जीवनशैली पनि एक कारक रहेको बताइएको छ । पुरुषहरूमा मधुमेहको बढी जोखिम तथा उनीहरू चुरोट, बिडी एवम् मद्यपान गर्ने भएकाले क्यान्सरको जोखिम बढी देखिएको हो ।

सूर्तीजन्य पदार्थ तथा मद्यपान रोक्दा पनि क्यान्सरको जोमि कम गर्न सकिने विज्ञहरूको राय छ । (टाइम्स अफ इन्डियाबाट)

प्रतिक्रिया