सिट बाँडफाँडका लागि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सिट बाँडफाँडका लागि सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ। गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न आज कार्यदलको बैठक बस्न लागेको हो।

बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए। कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो।

गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका सिट तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँट गर्ने सहमति भएको थियो। तर, गठबन्धनका सबै दलले धेरै–धेरै सिटमा दाबी गर्दा यी आधारहरूमा असहमति बढेको छ।

गत स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तेस्रो भएको थियो। तर २०७४ को निर्वाचनमा समानुपातिक तर्फ कांग्रेस केही मतले मात्र दोस्रो बनेको थियो।

उसले आफ्नो उक्त मत र गत स्थानीय तह निर्वाचनको मतको आधारमा ६० प्रतिशत सिटमा दाबी गरेको छ। बाँकी ४० प्रतिशत सिट ४ दलबीच भागवण्डा गर्ने कुराले असहमति बढेको देखिन्छ।

आजको बैठकमा कार्यदल संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राख्ने प्रस्तावकै अन्तरवस्तुमा पुग्ने र खाका बनाउने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया