वृद्ध नेतृत्वबाट दिक्क कर्णालीका युवाहरु

वृद्ध नेतृत्वबाट दिक्क कर्णालीका युवाहरु

सुर्खेत :  केन्द्रीय राजधानी काठमाडौँमा जस्तै कर्णालीमा पनि वृद्ध नेताहरुप्रति आक्रोश बढेको छ । खासगरि युवा जमातले बुढा नेताहरु आपसमै लडेर कर्णालीमा विकास गर्न नसकेको भन्दै कर्णालीका शीर्ष नेताहरुको आलोचना गरेका हुन् ।

हालै प्रतिनिधिसभा चुनावका लागि सुर्खेतबाट यामलाल कँडेल, हृद्यराम थानी र पूर्णबहादुर खड्का पनि सर्वसम्मत सिफारिस भएका छन् । तीनै जना सुर्खेतका चर्चित र स्थापित नेता भएपनि उनीहरु अहिलेसम्म आपसमै लडेर कर्णालीको राजनीति धुमिल्याएका छन् ।

कँडेल, थानी र खड्का तीनै जना सुर्खेतका नेता हुन् । उनीहरु तीनै जना उमेरले ६० वर्ष कटिसकेका नेता पनि हुन् । संघीय सरकारमा एक एक पटक मन्त्री भइसकेका तीनै नेता अहिले कर्णाली प्रदेशको राजनीतिमा केन्द्रित छन् ।

गएको चुनावमा यामलाल कँडेल प्रदेशकै चुनाव लडेर कर्णाली केन्द्रित हुँदा थानी र खड्का चुनाव हारेपनि काठमाडौँमै राजनीतिमा रमाए । अहिले खड्का र थानीकै लडाई कांग्रेसभित्र चर्को छ ।

कांग्रेसभित्र उनीहरुको लडाईका कारण पार्टी कमजोर बनेको छ भने कार्यकर्ता एक आपसमा विभाजित छन् । दुुई नेताबीच तालमेल नमिल्दा हालैको स्थानीय तह चुनावमा कांग्रेस उम्मेद्वार पराजित भएका थिए । जसको उदाहरण, वीरेन्द्रनगर नगरपालिका हो ।

तीन जना बुढा नेता भएपनि कर्णालीमा ठूला जहाज बस्न मिल्ने विमानस्थल नहुुनु, कर्णाली राजमार्ग रारासम्मै पीच नहुनु, हुम्लामा अझै पनि गाडी पुग्न नसक्नु जस्ता थुप्रै समस्याले गर्दा वृद्ध नेताहरुप्रति युवाहरुको आक्रोश बढेको छ ।

पछिल्लो समय सुर्खेती युवाहरुले खड्का, थानी र कँडेलको राजनीतिले गर्दा युवाहरुले अवसर पाउन नसकेको टिप्पणी गर्न थालेका छन् । हालै प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वार सिफारिस हुँदा पनि युवाहरुलाई प्राथमिकता दिनुपर्नेमा माओवादीकै नेता प्रशान्त आरसी बताउँछन् ।

यस्तै युवा दिनेश गौतमले पनि पुराना नेताहरुबाट विकास नदेखिएको भन्दै अब उनीहरुलाई आउँदो चुनावमा अस्वीकार गर्न सक्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा गौतम लगायतका युवाहरुले पनि ‘नो नट अगेन’ भन्दै घुमाउरो शैलीमा खड्का, थानी र कँडेलको विकल्प खोज्ने बेला भएको टिप्पणी गर्न थालेका छन् ।

बुढा नेताहरुको प्रवृत्ति र सुस्त गतिका कारण विकास हुन नसकेको तथा युवाहरुले अवसर पाउन नसकेको भन्दै कर्णालीमा पनि बुढा नेताप्रति युवाहरुको आक्रोश बढेको छ ।

स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेर राम्रो काम गरिरहेका बेला दलका जनप्रतिनिधि गुमनाम भएको भन्दै युवा तथा नागरिक जमात पनि पछिल्लो समय स्वतन्त्र उम्मेद्वारतर्फ आकर्षित भएका छन् ।

काठमाडौँमा जस्तै कर्णालीमा पनि बुढा नेताहरुप्रति आक्रोशित युवाले स्वतन्त्र उम्मेद्वार जिताउन अभियान नै थालेभने सुर्खेती राजनीतिका सिण्डिकेट नेताहरु यामलाल कँडेल, हृद्यराम थानी र पूर्णबहादुर खड्कालाई चुनाव जित्न चुनौतिपूर्ण देखिन्छ ।

प्रतिक्रिया