बालेन पछ्याउँदै वीरेन्द्रनगरकी मेयर मोहनमाया, ७ दिनमा अवैध संरचना हटाउन निर्देशन
सुर्खेत : काठमाडौँमा मेयर बालेन शाहले अवैध संरचना धमाधम भत्काइरहेका बेला वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले पनि त्यसलाई पछ्याउने काम भइरहेको छ । यसअघि चुपचाप मेयर पछिल्लो समय बालेनबाट प्रभावित भएर सुरुमा अवैध संरचना भत्काउन परिपत्र गरेकी हुन् ।
वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय र अन्य सरोकारवालासँग गरिएको बैठकको निर्णयका आधारमा सडक क्षेत्राधिकारभित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी/अस्थायी संरचनाहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको जानकारी दिए ।
नगरपालिकाले यदि तोकिएको अवधिमा त्यस्ता संरचना हटाउन अटेरी गर्ने सरोकारवाला निकाय तथा घर–जग्गाधनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
सडक क्षेत्रमा बनाइएका संरचना खाली नगर्दा सडक स्तरोन्नति कार्य प्रभावित भएपछि नगरपालिकाले सातदिने अल्टिमेटम दिएको हो । रु १२ करोड लागतमा चार लेनको सडक बनाइँदैछ ।
बालेनको प्रभाव पोखरा, धनगढी हुँदै विभिन्न नगरमा अहिले देखिन थालेको छ ।
प्रतिक्रिया