दार्चुलामा बाढी पहिरोमा परि ५ जनाको मृत्यु, ७ जना बेपत्ता

दार्चुलामा  बाढी पहिरोमा परि ५ जनाको मृत्यु, ७ जना बेपत्ता

दार्चुला :  गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर १ की ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेको नौगाढ गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले रातोपाटीलाई जानकारी दिए । सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ ।

पहिरोका कारण वडा नम्बर २ मा १५ घर, विद्यालय, पानी घट्ट लगायत पूर्ण रुपमा क्षति भएको उपाध्यक्ष ठगुन्नाले बताए । पहिरोले ती घरका पशु चौपाया, अन्नपात, धनसम्पत्ति केही बाँकी नरहेको उनले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको उनको भनाई छ ।

यता दार्चुलाकै महाकाली नगरपालिकामा पनि पहिरोका कारण ठूलो क्षति भएको छ । यहाँ २ जनाको शव भेटिएको छ भने अन्य ७ जना वेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ की ४३ वर्षीया मनमती कार्की र वडा नम्बर २ बस्ने ७७ वर्षीय नन्दराम बोहोराका शव भेटिएको छ ।

स्थानीय तहसँग समन्वय गरेर ४ जना सिकिस्त घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट धनगढी अस्पताल लगिएको र अन्य घाइतेहरुको पनि अवस्था हेरेर हेलिकप्टरबाट अस्पताल लाने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । घाइतेहरू तथा घरबार गुमाएका परिवारलाई स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया