बहुला कुकुरको टोकाइबाट शुचौपाया मर्न थालेपछि स्थानीय त्रसित
रुकुम पश्चिम : जिल्लाको मुसीकोट नगरपालिकाको वडा नम्बर १० का स्थानीयलाई रेविज रोग सम्बन्धी सचेत बनाइएको छ । गत भाद्र ११ गते बहुला कुकुरको टोकाइबाट घाइते भएका पशुचौपाया मर्न थालेपछि मुसीकोट १० का स्थानीय त्रसित भएका छन् ।
उनिहरुलाई आज स्वास्थ्य सेवा कार्यालयमा बोलाएर जिल्ला अस्पतालका डाक्टरहरुले रेविज रोगका बारेमा जानकारी गराएका हुन् । उक्त कुकुरले पशुचौपायलाई टोकेका परिवारका १५ सदस्य स्वास्थ्य सेवा कार्यालय सल्ले पुगेका थिए ।
उनिहरुलाई रेविज रोग सम्बन्धी जानकारी गराउनुका साथै नआत्तिन र सतर्क रहन आग्रह गरिएको जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले जानकारी दिए ।
जसअनुसार घाउ चोटपटक भएका ९ जना स्थानीयले रेविजबाट जोगिन रेविज विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रत्येक्ष कुकुरले नटोकेपनि कुकुरले टोकेका पशुको सम्पर्कमा रहेका ९ जनाले भ्याक्सिन लगाएको डा। जैसीको भनाई छ ।
बहुला कुकुरको टोकाईबाट घाइते भएका २ गोरु, एक गाई, एक भैसी र ४ कुकुर मरेको स्थानीयले जनाएका छन् । अझै केही पशु चौपाया बिरामी अवस्थामा रहेको बताइएको छ । कुकुरको टोकाइबाट दुई जना स्थानीय घाइते भएका थिए । वडाको आग्रहमा स्वास्थ्य सेवा कार्यालयसम्म ल्याएर वडावासीलाई सचेत बनाइएको वडाअध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
यसैविच भोली मुसीकोट नगर पशु सेवा शाखाले वडामा रेविज खोप शिविर संचालन गर्ने भएको छ । रेविजको संक्रमण नफैलिएयोस भनेर सबै कुकुर र संक्रमित कुकुरले टोकेका पशु चौपाय रहेको घरका अन्य सबै पशुलाई खोप लगाउने गरी रेविज खोप शिविर संचालन गर्न लागिएको वडाध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया