निर्वाचन खर्च विवरण नबुझाउने सल्यानका उम्मेदवार कारबाहीमा
सल्यान : स्थानीय तहको निर्वाचनको खर्च विवरण समयमै नबुझाउने सल्यानका अधिकांश उम्मेदवार कारबाहीमा परेका छन् ।
पालिका प्रमुख र उपप्रमुखमा पराजित र निर्वाचित गरि कुल ६६ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिावनामा परेका छन् । पराजित हुने उम्मेदवारहरुमा खर्च विवरण बुझाउनेको संख्या न्यून छ भने निर्वाचित करिब आधा जति जनप्रतिनिधिहरुले पनि खर्च विवरण बुझाएका छैनन् ।
१० पालिका रहेको सल्यानमा कारबाहीमा पर्ने निर्वाचित जनप्रतिनिधिमा ५ पालिकाका १० जना प्रमुख र उपप्रमुख रहेका छन् । जरिवानामा पर्नेहरुमा बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकी र उपप्रमुख पुरुषोतम आचार्य रहेका छन् । बनगाडमा पराजित हुने अन्य उम्मेदवारहरुले पनि चुनाव खर्च विवरण बुझाएका छैनन् ।
त्यस्तै खर्च विवरण नबुझाएर कारबाहीमा पर्ने अन्य पालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्षमा कपुरकोटका दुर्गा पुन र प्रकाश भण्डारी, सिद्ध कुमाखका भरत गिरी र राम बहादुर बस्नेत, कुमाख गाउँपालिकाका मान बहादुर बुढाथोकी र लाल बहादुर रावत, त्रिवेणीका खिम बहादुर रावत र सिता खड्का रहेका छन् ।
त्यस्तै निर्वाचित ८३ वटा वडाध्यक्षमध्ये ४९ जना वडाध्यक्षहरुले विवरण नबुझाउँदा कारबाहीमा परेका छन् । खर्च विवरण नबुझाउने वडाध्यक्षहरुमा त्रिवेणी, कुमाख, सिद्धकुमाख र बनगाड कुपिण्डेका सबै निर्वाचित वडाध्यक्षहरु रहेका छन् ।
निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखलाइ ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाइ ३ लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई २ लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुलाई १ लाख ५० हजार जरिवाना तोकेको छ । अबको ६ महिनाभित्र जरिवाना नबुझाएमा ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया