सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्व लक्षित योजना बनाएर अघि बढ्ने बताएको छ । दशै तिहारको बिचमा घट्ने घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा बनाएर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लगमयत जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘हामीले हप्तापिच्छे दुई–तीनपटक बजार अनुगमन गरिरहेका छौँ,’उनले भने, ‘अनुगमनको प्रभावकारिताका लागि कडाइका साथ लगिएको छ ।’
सुर्खेतका बढीजसो भीडभाड हुने वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, गुर्भाकोट, बोटेचौर, सिम्ता, बड्डीचौर, बाबियाचौलगायतका बजारमा व्यापार व्यवसायलाई सेवाग्राहीमैत्री र सहज बनाउन विशेष सुरक्षा योजनाले सहयोग पुग्ने उनको भनाई छ ।
उनका अनुसार समाजमा अन्य सामाजिक अपराधका घटना घट्न नदिन मुख्य–मुख्य बजारमा सुरक्षाकर्मी खटाइएको छ ।
नागरिकलाई सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतसँग समन्वय गरेर सुपथ मूल्यका पसल सञ्चालन गर्न लगाइएको उनको भनाई छ । सुर्खेतलगायत कर्णालीका दशै जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि पछिल्लो एक हप्तामा सामान किन्ने नागरिकको घुइँचो लाग्न थालेको छ ।
प्रतिक्रिया