रुकुम पश्चिमको मुसीकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

रुकुम पश्चिमको मुसीकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

रुकुमपश्चिम :  रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएको छ । २ सय ६२ औं शाखाको रुपमा शनिबार मुसीकोट नगरपालिका १ बागबजारमा बैंकको शाखा स्थापना भएको हो ।

सरल बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले बाँकी रहेका सबै जिल्ला सदरमुकाममा शाखा स्थापना गर्ने कार्यक्रम अन्तरगत मुसीकोटमा शाखा स्थापना भएको बैंकका कार्यकारी निर्देशक (सिइओ) किरणकुमार श्रेष्ठले जानकारी दिए । मुसीकोटमा शाखा स्थापना भएपछि देशका ७७ जिल्लामध्यमा अव ७ वटा जिल्ला सदरमुकाममा शाखा स्थापना गर्न बाँकी रहेको बताईएको छ ।

यस आर्थिक वर्ष भित्रमा शाखा कार्यालयको संख्या ३ सय पुर्याउने उदे्श्य राखेको बैंकका कार्यकारी निर्देशक श्रेष्ठले बताए । अझैपनि ३५ प्रतिशत नागरिकहरु बैंकिङ सेवाभन्दा बाहिर रहेको भन्दै सबै नागरिकको माझमा बैंकिङ सेवा पुर्याउने उदे्श्यले मुसीकोटमा शाखा स्थापना गरिएको उनको भनाई छ ।

बैंकले बढ्दो प्रविधिको प्रयोगसंगै डिजिटल बैंकिङ सेवालाई प्राथमिकता दिएको समेत उनले बताए । राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको पूर्ण स्वामित्व रहेको एक मात्र बैंक रहेको र खुद मुनाफा हाँसिल गर्ने नेपालको सबैभन्दा ठूलो बैंक रहेको पनि उनले बताए । साथै राष्ट्रिय वाणिज्य बैंकको व्याजदर अन्य बैंकको तुलनामा कम रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै बैंकका संचालक दिलिपकुमार ढुंगानाले विना धितो ऋण लगानीमा बैंकले विशेष जोड दिएकोले पनि सामान्य नागरिकको रोजाइमा राष्ट्रिय वाणिज्य बैंक पर्न गएको बताए । त्यस्तै लगानी गरेको निश्चित समयमा सावा डबल हुने जस्ता आकर्षक कार्यक्रमहरु पनि बैंकले संचालन गरिरहेको उनको भनाई छ ।

शाखा कार्यालय उद्घाटन पश्चात मुसीकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा अवस्थित सहिद प्रतिष्ठानको सभाहलमा उद्घाटन समारोह भएको थियो । त्यसअघि बागबजारबाट सेरिगाउँसम्म पञ्चेबाजा सहित प्रभातफेरी निकालिएको थियो ।

नेपाल राष्ट्रिय वाणिज्य कर्णाली प्रदेशका उपप्रमुख केशवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संचालक दिलिपकुमार ढुंगाना र कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं सांसद गोपाल शर्मा र प्रदेश सांसद देवी ओलीको विशेष आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया