डेंगु संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु

डेंगु संक्रमणका कारण एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया