दशैँको मुखमा भत्ता नपाउदा राउटे निराश

दशैँको मुखमा भत्ता नपाउदा राउटे निराश

भन्छन्ः ‘पहिलेजस्तै हर्षोल्लास नभएर खल्लो दशै हुने भयो’

तस्बीर : लाल बहादुर खत्री

सुर्खेत :  यतिबेला जताततै दशैको रौनकता छाएको छ । सबैलाई दशैँले उत्साहित बनाएको छ । त्यही उत्साहमा उत्साहित हुँदै राउटे समुदाय पनि दशै मनाउनकै लागि घर वरिपरि सिगारपटारमा जुटेका छन् । जङ्गलमा फिरन्ते जीवन बिताउदै आएको यो समुदाय पनि दशै बनाउनकै लागि घर वरपर सरसफाई, लिपपोत गर्न व्यस्त देखिन्छन् ।

पहिले-पहिले सरसफाइमा त्यति धेरै चासो नदिने यो समुदायले दशैँ मनाउन आफु बस्ने घर वरपर खुर्किएर चिल्लो पारेको देखिन्छ । केहीले भित्र र बाहिर चिटिक्क पारिसेकका छन् भने केही चिटिक्क बनाउन जुटेका छन् । त्यही मध्य चिटिक्क बनाउन जुटेका छन् ३५ वर्षिय भद्र बहादुर शाही र उनको परिवार । कोही बाहिरसम्म खुर्किदै चिल्लो पादै छन् भने कोही लिपपोतमा व्यस्त देखिन्छन् । उनीहरु मात्र नभएर अहिले पुरै राउटे समुदायनै दशैँको अवसरमा बस्तिनै सिगार्न लागेका छन् ।

भद्र बहादुर शाही घर वरिपरि चिल्लो बनाएर आफुले बनाएका कोशि बेच्न दशैका लागि खर्च जुटाउन गाउ जाने योजना रहेको बताउँछन् । ‘यो दशैमा भत्ता आएन, दशै खर्च जुटाउन र बाख्रा ल्याउन गाउँ त जानु प¥यो नभए कसरी दशै मनाउने ?’ शाहीले भने ।
भद्र बहादुर सरसफाइ सकेर कोशि बेच्न गाउँ जाने योजनामा छन् भने अन्य राउटे परिवार कोशि बाकेर कोशि बेच्न गाउँतिर हिडिसकेका छन् ।

दशैका लागि बस्ति राम्रो बनाए पनि यो वर्ष आफुहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने उनी बताउँछन् । पहिले समयमै भत्ता आउथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सुर्य नारायण शाही बताउँछन् । पहिले समयमै भत्ता पाउँथ्यौँ, दशै पनि त्यस्तै रमाइलो हुन्थ्यो,’उनले भने, ‘अहिले दशैमा भत्ता नपाएपछि अहिलेको दशैमा खुशि नभएर दुःखी छौँ हामी ।’

दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडा स्थित बसेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशै मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन् ।
यसअघि सधैजसो तीन तीन महिनाको फरकमा आउथ्यो तर,अहिले आफुहरुले ढिलोगरि भत्ता पाउने गरेको राउटे मुखिया सुर्यनारायण शाही बताउँछन् । पहिलेको सरकारले हुँदा समयमै भत्ता पाउथ्यौँ,’मुखिया शाहीले भने, ‘अहिले आफुले भत्ता नपाएको तीन महिना भयो । पहिले भत्ता ढिलो आएपछि चाडबाडमा पाइहाल्थ्यौँ । तर,अहिलेको दशैमा समेत हामीले भत्ता पाएका छैनौँ ।’

‘पछिल्लो सरकार आएदेखि आफुहरुले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरि पायौँ अहिले दशैमा पनि पाएनौँ अब कसरी दशै मनाउने हामीले ?’ राउटे मुखिया शाहीले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तिमा राउटेहरुलाई खाद्यन्न नुन, तेल, लगायत दशैका लागि आवश्यक पर्ने सामाग्रिको अभाव रहेको छ । सधैजसो समयमै भत्ता पाएर खुशिसाथ दशै मनाउने राउटे समुदाय यो वर्ष अभावै अभावमा दशै मनाउने मुखिया शाहीले भने ।
दशैँको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको छ । तीन महिना देखि भत्ता पाएका छैनन् । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दैआएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् ।

यता गुराँस गाउँपालिका -८ का वडा अध्यक्षले शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतवार बैँङ्क बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको  वडा अध्यक्ष दिपेन्द्र वलीले बताए । वडाको खातामा रकम ढिलो गरि आयो,’उनले भने, ‘आजदेखि बैँङ्क बन्द भएपछि कसरी भत्ता उपलब्ध गराउने कुनै उपाए छैन ।’

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् । राउटे समुदायले हर्षोल्लासका साथ दशै मनाउन पाउनुपर्छ,’उनले भने, ‘उनीहरुलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैमा भत्ता उपलब्ध गराउनुपर्छ ।’

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईसराई गर्दैआएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले राउटे बस्ती जहाँ पुग्छ, त्यही गएर भत्ता वितरण गर्दैआएको छ ।

पछिल्लो समय राउटे समुदायको बसाईसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटको जनसंख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।

प्रतिक्रिया