रेशमलाल चौधरी र लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

रेशमलाल चौधरी र लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

कैलाली : नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको हो ।

रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ । त्यस्तै, लक्ष्मण चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।

आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल र फरार सूचीमा रहेका लक्ष्मण चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए । टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । लक्ष्मण चौधरी कैलाली कारागारबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । मंगलबार उजुरीउपर जाँचबुझ गर्ने बताइएको छ । ५ प्रतिनिधि र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४८ जनाले प्रतिनिधि सभा र ९६ जनाले प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया