प्रेमप्रकाश ओली विरुद्ध दाबि विरोध गर्दै उम्मेदवारी खारेजिको माग

प्रेमप्रकाश ओली विरुद्ध दाबि विरोध गर्दै उम्मेदवारी खारेजिको माग

रुकुम पश्चिम : रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार प्रेमप्रकाश ओलीका विरुद्ध दाबि विरोध परेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज सोही क्षेत्रमा गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारी विरुद्ध उजुरी परेको हो ।

ओलीलाई बैंकिङ कुसरको मुद्दामा उच्च अदालत सुर्खेतले दोषि ठहर गरेको भन्दै उनको उम्मेदवारी खारेजको माग सहित दाबि विरोध परेको हो । बैंकिङ कसुरमा दोषि ठहरिएको भन्दै उहाँको उम्मेदवारी खारेजिको माग सहित दाबि विरोध परेको र यसमा जाँचबुझ भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले बताए ।

अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको बोहराले बताए । ओली विरुद्ध उच्च अदालत सुर्खेतले गत वर्ष चेक अनादर गरेको ठहर गर्दै विगो भराउने र एक महिना सम्मको कैद सजायको फैसला गरेको थियो ।

रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदिप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० विगो तिर्न र एक महिना कैद सजाय तोकेको थियो ।

साथै क्षेतीपूर्ति वापत २८ हजार ९ सय ५० रुपैयाँ तिर्न पनि अदालतले आदेश गरेको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गरेको गर्दै सजाय फैसला गरेको थियो । ओलीले विकलाई एनआइसी एसिया बैंकको चेक दिएको र उक्त खातामा पैसा नभएको ठहर गरिएको थियो ।

ओली यो फैसलाको विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चमा उनको मुद्दा विचाराधिन अवस्थामा रहेको छ । ओलीले आफूले उक्त पैसा तिरिसकेको बताएका छन् । २०७६ साउन ९ गते सुदिप विककै खातामा ७ लाख २३ हजार ७ सय ५० र थप रकम २६ हजार २ सय ५० समेत तिरिसकेको उनको भनाई छ ।

आफूले पैसा तिर्दा पनि बेइमान गरेर मुद्दा दर्ता गरी एकपक्षीय मुद्दा फैसला भएपछि आफू उक्त मुद्दाको विरुद्ध सर्वोच्चमा गएको ओलीले बताए ।

प्रतिक्रिया