देउवाले बुझाए जवाफ, आयोगले नै त्रुटि गरेको दाबी

देउवाले बुझाए जवाफ, आयोगले नै त्रुटि गरेको दाबी

कैलाली :  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । आसन्न निर्वाचनका उमेदवार देउवाले आफूविरुद्ध परेको उजुरीको लिखित जवाफ मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको बताए । उनले उजुरीमा नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको उजुरी परेको बताए । उजुरीको जवाफ २ बजेसम्म दिने समय तोकिएकोमा दुई घण्टा अगाडि नै जवाफ आइसकेको बताए । उजुरी उपर छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिने मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।

देउवाले बुझाएको जवाफमा नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको उल्लेख गरिएको कांग्रेसका एक नेताले बताए ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको उल्लेख गरिएको थियो ।

 

प्रतिक्रिया