रुकुम पश्चिममा पनि भयो गठबन्धन,कांग्रेसका सबै उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुकुम पश्चिममा पनि भयो गठबन्धन,कांग्रेसका सबै उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुकुमपश्चिम :  रुकुम पश्चिममा कांग्रेसका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहित स्वतन्त्र उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार मानबहादुर नेपाली, स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसकै लालबहादुर महत, कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कृष्ण रोकाय रहनुभएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यो क्षेत्रका कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी भने मंगलबार खारेज भएको थियो । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व जनमुक्ति सेनाका कमाण्डर भिमदत्त खड्काले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिए । पार्टी केन्द्रको निर्देशन अनुसार गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने गरी आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताए ।

यो संगै अव रुकुम पश्चिममा पनि गठबन्धन भएको छ । मंसिर ४ मा गठबन्धन र नेकपा एमाले विचमा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् । प्रतिनिधि सभामा जनार्दन शर्मा र प्रदेश सभा क मा महेन्द्र केसी तथा ख मा राजकुमार शर्मा उम्मेदवार छन् ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा नन्दराम देवकोटा र प्रदेश क मा नारायणकुमार शाह तथा ख मा कर्णबहादुर घर्ती उम्मेदवार हुनुहुन्छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका तारक केसी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।

आज ३ बजे भित्र उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुने छ । सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले निर्धारित समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन परेको र उक्त निवेदन दर्ताको चरणमा रहेको बताउदै तीन बजेसम्ममा अन्तिम नामावली सार्वजनिक हुने बताए । आजै साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया