सल्यानमा दशैं अघि मर्मत गरिएका सडक पुनः अवरुद्ध
सल्यान : दशैं -तिहारलाई लक्षित गरी मर्मत सम्भार गरिएका जिल्लाका अधिकांस सडक वर्षाका कारण पुनः अवरुद्ध भएका छन् । दशैं अघि जिल्लाका मुख्य तथा सहायक सडकहरु मर्मत गरिएको थियो ।
मर्मत गरिएका सडक पुनः अवरुद्ध हुँदा पालिकाहरुलाई व्ययभार समेत थपिएको छ । सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक पुनः सूचारु गर्न तर्फ जुटेका छन् ।
खलंगा कालिमाटी, खलंगा जयतपानी सल्लीबजार, थारमारे चौरपानी चौरजहारी, श्रीनगर दहखोला, मोखला दमाचौर लगायतका तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् ।
मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताए । सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई पुनः डोजरको सहायताका सञ्चालनमा ल्याएको बताउँदै उनले पालिकाबाट जोडिने अन्य सहायक सडकलाई मौसममा सुधार आएपछि मर्मत गरिने उनको भनाई छ । ठाउँ ठाउँमा खसेका पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती भएको छ ।
तिहार लगायतका अन्य चाडवाड आइसकेकाले मौसममा सुधार नभएपनि अवरुद्ध खलंगा जयतपानी सल्लीबजार सडक मर्मत गरी सञ्चालनमा ल्याएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले बताए । दशैं अगाबै मर्मत गरिएका अधिकांस सडक लगातारको वर्षाका कारण पुनः अवरुद्ध भएको उहाँको भनाई छ । पालिकाको केन्द्रबाट जोडिएका अधिकांश सडक अहिले अवरुद्ध रहेको उनको भनाई छ । मौसममा सुधार हुने बित्तिकै मर्मत गरिने उनले बताए ।
वर्षाले ओटासिल गरिएको राप्ती राजमार्ग पनि जीर्ण बनेको छ । ठाउँ ठाउँमा झरेको पहिरो र बाढीले सडक बगाउँदा दैनिक दुई हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने राजमार्गमा जोखिम मोलेर यात्रु हिडिरहेका छन् ।
वातावरण प्रभाव मूल्यांकन नगरी जथाभावी खनिएका सडकका कारण थुप्रै बस्तीसमेत जोखिममा परेका छन् ।
प्रतिक्रिया