मतदातासँग भोट माग्न उम्मेदवारलाई भ्याइनभ्याई

मतदातासँग भोट माग्न उम्मेदवारलाई भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।

सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क) का नेकपा माओवादीका भीमप्रकाश शर्मा र प्रदेशसभा (ख) का नेपाली कांग्रेसका सुरेश अधिकारी लगायतका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा मत माग्न घरघरै पुगिरहेका छन्।

सत्ता गठबन्धनका प्रदेशसभा (क) का उम्मेदवार भीमप्रकाश शर्माले पार्टीका आन्तरिक बैठक, प्रशिक्षण कार्यक्रमसँगै मतदाताको घरदैलोमा पुगेर मत मागिरहेको बताए।

उनले बनगाड कुपिण्डे, बागचौर नगरपालिका, कुमाख, दार्मा, सिद्ध कुमाख गाउँपालिकामा पार्टीका आन्तरिक बैठकसँगै जनभेटघाटलाई तीव्रता दिएको बताए ।

सिट बाँडफाँड गर्दा प्रदेशसभा (क) (माओवादी केन्द्र) को भागमा परेको भए तापनि तीन वटै दलको साझा उम्मेदवार भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गरे। उनले भने‚ ‘सल्यान जिल्लाको विकास र समृद्धिको खाका आफूसँग भएकाले प्रदेशसभा (क) मतदाताले गोलो घेराभित्रको हँसिया हथौडामा मतदान गरी विजयी गराउनेमा म ढुक्क छु।’

सत्तागठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाश ज्वालाले पर्यटन विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सडक स्तरोन्नति लगायतका मुख्य चुनावी एजेण्डा अघि सारेर बस्तीमा पुगिरहेको बताए।

देशको आवश्यकता र औचित्य अनुसारका एजेण्डा कार्यान्वयन गर्न गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनेमा आफू आशावादी भएको उनको भनाई छ।

सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा (ख) का उम्मेदवार सुरेश अधिकारीले कालिमाटी, त्रिवेणी, शारदा नगरपालिकाभित्रका मतदातासँग भेटघाट गरेको बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पार्टीका आन्तरिक भेला, छलफलसँगै मतदाता भेटघाटलाई पनि निरन्तरता दिएको बताएको छ।

प्रतिक्रिया