रुकुम पश्चिममा समानुपातिक र प्रत्यक्ष तर्फको सबै मतपत्र पुग्यो

रुकुम पश्चिममा समानुपातिक र प्रत्यक्ष तर्फको सबै मतपत्र पुग्यो

रुकुमपश्चिम : मंसिर ४ को निर्वाचनका लागि रुकुम पश्चिममा सबै मतपत्र आइपुगेको छ । आज प्रत्यक्ष तर्फ र समानुपातिक तर्फको अस्थायी मतदाताका लागि मतपत्र आइपुगेको हो । अन्य समानुपातिक मतपत्र भने कार्तिक ७ गते नै जिल्ला आइसकेको थियो ।

यो संगै जिल्लामा आवश्यक सबै मतपत्र जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार आज प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको १ सय १५ बाकस मतपत्र आइपुगेको छ ।

त्यस्तै प्रदेश सभाको प्रत्यक्ष तर्फ १ सय १६ बाकस मतपत्र आइपुगेको मल्लले बताइन् । दुई वटा प्रदेश सभाका लागि समान ५८र५८ बाकस मतपत्र आइपुगेको हो । त्यस्तै अस्थायी मतदाताका लागि समानुपातिक तर्फ ४ बाकस मतपत्र आइपुगेको मल्लको भनाई छ ।

जिल्लामा १ लाख ४ हजार २ सय ८० मतदाता छन् । मतदाता संख्याको तुलनामा १० प्रतिशत बढी मतपत्र जिल्ला आइपुगेको जिल्ला निर्वाचन अधिकारी मल्ले बताए । जिल्ला आइपुगेको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मंसिर १ गतेभित्र सबै मतदान स्थलमा मतपत्र पुग्ने गरी पठाइने बताइएको छ ।

 

प्रतिक्रिया