राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड
![राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड](https://snowberry.prixacdn.net/media/gallery_folder/gadi_cuRUCOWO36_pwvbx439gvmwupmbkohyikc0as6jnkoepiftqxp7uykcijscixeoqckxbnny.jpg)
चितवन : प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो ।
उनको बा३च २०५० नं को गाडीमा इँटा प्रहार भएको हो । सँगै रहेको प्रदेश ३–०१–२४च९०६१ नंको गाडीमा समेत इँटा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकलमा चढेर आएका पाँच÷छजनाको समूहले इँटा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । दुवै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
श्रेष्ठको गाडीको भाइजरसमेत फुटेको छ । गाडीमाथि आक्रमण निर्वाचन बहिष्कार समूहबाट भएको आशङ्कामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया